कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रासः नेपालमा बज्यो खतराको घन्टी !

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा समेत देखिएपछि नेपालमा खतराको घण्टी बजेको छ ।

भारतको दक्षिणी राज्य कर्नाटकका ६६ र ४६ वर्षका दुई पुरुषमा यो भाइरस फेला परेको हो। उनीहरु दुवै जनालाई अहिले निगरानीमा राखिएको छ।

सरकारी अधिकारीका अनुसार ती संक्रमितहरु दक्षिण अफ्रिकाबाट आएका थिए। भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ ।

दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अरु देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट भारतमा पनि देखिएकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेष डा शेरबहादुर पुन बताउनुहुन्छ ।

नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो समस्या ल्याउन सक्ने उहाँको चेतावनी छ ।

‘अहिले नेपालमा हवाईसेवा पनि खुल्ला भइसकेको छ। नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभए पनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्। जसले थप जोखिममा निम्ताउन सक्छ,’ डा पुनको भनाइ छ ।

भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने डा पुनको तर्क छ।

डा पुन ओमिक्रोन, डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भए जोखिम हुनसक्ने बताउनुहुन्छ । बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलिने र उपचार प्रणालीमा समस्या ल्याउने उहाँको भनाइ छ ।

नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन। तर कोरोनाभाइरसको यो नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वेन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको अधिकारीहरूले बताएका छन्। ओमिक्रोन भाइरस हाल ३० वटा देशमा देखा परिसकेको छ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech