विश्वमै विरलै देखिने जण्डिस रोगबाट ग्रस्त वर्षमान पुन खतरामुक्त

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०७८, सोमबार

नेपालगन्जः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। उहाँ खतरामुक्त भएर चाँडै स्वास्थ्यलाभ हुने चिकित्सकहरुले बताएका छन्। गत शुक्रबार बैंककबाट थप उपचारका लागि नेता पुनलाई चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिनुभयो । चीनमा उपचार सुरु गरिएको चौथो दिनमै नेता पुनको स्वास्थ्यमा सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन्। पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा घटेर १८ पुगेको छ। यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो। बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्यामा सुधार भएको घर्तीले बताउनुभयो ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुनलाई उपचारको लागि असोज १३ गते बैंकक लगिएको थियो। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो। यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech