छिन छिनमा पिसाब किन लाग्छ ?

    • डा.अर्चन शम्शेर राणा

  • ११ मंसिर २०७८, शनिबार

“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

किन छिन छिनमा पिसाब लाग्छ ?

कारण के हो त ?
यसको एउटा मात्र कारण हुँदैन । यसका पछाडिका विभिन्न कारणहरु निम्न छन् ।

१. सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो ।

२. त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ ।

३. गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ । तर, सामान्य अवस्थामा पटक पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ ।

के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ छौ भन्ने कुराको निर्क्यौल गर्छ । हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक पटक पिसाब लाग्न सक्छ ।

दिनमा कति पटक पिसाब आउनु पर्छ ?

एक दिनमा कति पटक पिसाब फेरिन्छ ?

पिसाबको मात्रा कति हुन्छ ?

त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो । औसत व्यक्तिको मुत्राशयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म रोक्न सकिन्छ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको समयमा पोल्छ वा दुखाई हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक पटक पिसाब लाग्छ भने, त्यो समस्या हो । यसरी पटक पटक पिसाब लाग्नु गंभिर समस्या पनि हुनसक्छ ।

राती कति पटक पिसाब आउनु उचित ?

खासगरी रातको समयमा पटक पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राती एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । यद्यपी पटक पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ । यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।

कुन अवस्थामा चिकित्सककहाँ जानुपर्छ ?

पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श आवश्यक हुन्छ । कहिले कहिं अधिक तरल पदार्थ सेवनले पनि पिसाब लाग्न सक्छ । तर, पटक पटक त्यो क्रम दोहोरिएमा चिकित्सकलाई भेट्नैपर्छ ।

के हुनसक्छ ?

पटक पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।

१. मुत्राशयको अत्याधिक सक्रियताको कारण पनि पटक पटक पिसाब लाग्छ ।

२. मधुमेहको कारण पनि पटक पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा शुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ ।

३. यदि यूरीनल ट्रैक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ ।

४. प्रोस्टेट ग्रन्थी बढेमा पनि पटक पटक पिसाब आउने समस्या हुन्छ ।

५. मृगौलामा संक्रमण भएमा धेरै पटक पिसाब आउँछ ।

लेखक डा अर्चन शम्शेर राणा , काठमाडौं स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरका मृगौला रोग विशेषज्ञ हुन् ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech