दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड–१९ को नयाँ भेरियन्टको नाम ‘ओमीक्रोन’

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७८, शनिबार

नेपालगन्ज: विश्व स्वास्थ्य संगठनले केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ ।

उक्त भेरियन्टलाई सुरुमा बी.१.१.५२९ नाम दिइएको थियो । यो भेरियन्ट अन्य देशमा पनि भेटिएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् । यो भेरियन्ट इजरायल र बेल्जियममा पनि फेला परेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यसअघि हङकङ र बोत्सवानामा पनि उक्त भेरियन्ट फेला परेको थियो ।

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट अन्य देशमा पनि फैलिएको पाइएपछि थुप्रै देशहरुले अफ्रिकी देशहरुबाट आवत–जावत बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामीबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक लगायतका मुलुकमा सोमबारबाट उडान बन्द गर्ने भएको बीबीसीले जनाएको छ । बेलायतले पनि अफ्रिकी देशहरुबाट प्रवेशमा प्रतिबन्द लगाउने भएको छ ।

जापानले आइतबारदेखि अफ्रिकी मुलुकबाट आउनलेलाई १० दिनको क्वारेन्टाइन र परीक्षण अनिवार्य गर्नुपर्ने नियम तोकेको छ । यता सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।

दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech