औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७८, बिहीबार

नेपालगन्जः मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ ।

विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

जथाभाबी औषधिको प्रयोग रोक्नका लागि चेतना जगाउन आजदेखि सप्ताहव्यापी सचेतना अभियान सुरु भएको छ । आजदेखि आउँदो ८ गतेसम्म ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ, एन्टीमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।

विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठन, तथा विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ तारिखदेखि २४ तारिखसम्म एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर एन्टीमाइक्रोबियल औषधिले काम नगर्दा बर्सेनि झण्डै सात लाख मानिसको ज्यान जाने गरेको छ ।

जनचेतना नजगाउने हो भने सन् २०५० सम्ममा यो सङ्ख्या बढेर बर्सेनि एक करोडसम्म पुग्ने देखिएको सङ्गठनले जनाएको छ । साथै एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान समेत छ ।

मानव तथा पशु स्वास्थ्य र वातावरण लगायतमा असर पुग्ने बजारमा उपलब्ध औषधिको गुणस्तर मापन गर्न, औषधिको गलत प्रयोगबारे नागरिकलाई जनचेतना जगाउन, डाक्टरको सिफारिस विनाका औषधि प्रयोग गर्नरनगर्न विज्ञको जोड छ । साथै कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला थप सचेत हुनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोड छ ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech