सेती, महाकाली र टीकापुर अस्पताल समेट्दै प्रदेश स्वास्थ्य प्रतिष्ठान बनाउने तयारी

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७८, मंगलवार

धनगढीः हरेक प्रदेशमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भनेर संघीय सरकारको स्वास्थ्य नीति २०७६ मा उल्लेख छ। सरकारको स्वास्थ्य नीति अनुसार अन्य ६ प्रदेशमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएका छन्।

तर सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म न मेडिकल कलेज सञ्चालनमा आउन सकेको छ न त स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना गरिएको छ। यसरी भन्ने हो भने सुदूरपश्चिममा सरकारी लगानीमा अहिलेसम्म स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने वातावरण नै बनेको छैन।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ‘स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा पुनर्सरचना, सुधार एवं विकास तथा विस्तार गरिनेछ’ भन्ने कुरा उल्लेख छ। यसैगरी ‘जनसंख्याको वितरण, भौगोलिक अवस्थिति एवं आवाश्यकताको आधारमा संघ, प्रदेश तथा स्थानीय तहमा अस्पताल तथा स्वास्थ्य संस्थाहरु स्वास्थ्य सेवा तथा जनशक्तिको विकास तथा विस्तार गरिनेछ’ भनिएको छ।

तर सुदूरपश्चिम प्रदेशको करिब २८ लाख जनसंख्याले भने निःशुल्क, सस्तो र भरपर्दो सरकारी स्वास्थ्य सेवा अहिलेसम्म पाएका छैनन्। संघीय सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले पनि स्वास्थ्य शिक्षा र सेवामा पहुँच विस्तार गर्न सकेको छैन। तर अन्य प्रदेशहरुले भने आफैंले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइसकेका छन।

प्रदेश २ ले मधेश स्वास्थ्य विज्ञान सञ्चालनमा ल्याएर मेडिकल शिक्षाको विभिन्न चार विधामामा पढाई गर्न विद्यार्थी भर्ना गरिसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचाना अधिकारी अजित केसरीले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर पढाइ सुरु हुन गइरहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनसक्ने विज्ञहरुले बताएका छन्। सेती प्रादेशिक अस्पताललाई प्रतिष्ठान बनाउन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डाक्टर हेमराज पाण्डेयले बताउनुभयो ।

‘सेती प्रादेशिक अस्पताललाई स्तरवृद्धि गर्न सकिए स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ’, उहाँले भन्नुभयो–‘अहिले त सरकारी स्वीकृतिको ५० शय्या र अस्पताल विकासको ७५ शय्याबाट सेवा दिनुपरेको छ। सेतीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ल्याउन सकिन्छ।’

सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन नहुँदा बाहिर गएर महँगोमा पढ्नुपर्ने बाध्यता रहेको छ। तर प्रदेश सरकारले भने केही दिनभित्रै सेती, महाकाली र टीकापुर अस्पताल समेटेर प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताउनुभयो ।

 

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech