बाँकेमा कात्तिक २८ गतेदेखि १२ वर्ष उमेरभन्दा माथिकालाई खोप लगाइँदै, यस्तो छ मापदण्ड

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत बाँकेमा आएको फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगन्जबाट खोप लगाउन लागिएको जानकारी दिनुभयो । मंसिर ४ गतेसम्म लगाइने सो खोप यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि लगाइने उहाँले जानकारी दिनुभयो ।

विशेषज्ञ चिकित्सकहरुले गर्ने सिफारिसका आधारमा खोप लगाइने छ । यसक्षेत्रमा सिकलसेलका बिरामीलाई पनि खोप लगाइने छ । बाँकेमा १ हजार ८ सय डोज खोप आएको छ ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज, मेडिकल कलेज कोहलपुर, खजुृरा क्यान्सर अस्पतालले खोप लगाउन लक्षित समूहको सिफारिस गर्ने छन् ।

त्यही भएर स्वास्थ्य कार्यालयले ती अस्पतालका विशेषज्ञ चिकित्सकहरुसँग छलफल र समन्वय गर्न सुरु गरेको छ । यसैक्रममा विहीबार नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुसँग छलफल गरिएको छ । छलफलमा मेडिकल कलेजका चिकित्सकहरु डा सुभाष योगी, डा पियुस कनोडिया, डा दिपेश गुप्ता,डा रोमन किदवाई, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको सहभागिता रहेको थियो ।

कसले पाउँछन् खोप ?
-१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
-लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
-लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
-जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
-लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
-अंग प्रत्यारोपण गरेका व्यक्ति
-लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
-मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

 

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech