कार्यसम्पादन मूल्यांकनमा बर्दिया अस्पताल यो पटक पनि पहिलो

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्यांकनमा बर्दिया अस्पताल पहिलो स्थान हासिल गर्न सफल भएको छ । लुम्बिनी प्रदेशका १३ अस्पताललाई पछि पार्दै आर्थिक वर्ष ०७७-७८ मा बर्दिया अस्पताल पहिलो भएको हो ।

आर्थिक वर्ष ०७६-७७ मा पनि बर्दिया अस्पताल पहिलो भएको थियो । अस्पतालले ७६.०२ प्रतिशत अंक हासिल गरेको छ । यस्तै कपिलबस्तु अस्पताल तौलिहवाले ७१.७३ प्रतिशत अंक ल्याउँदै दोस्रो भएको छ भने ६६.६७ प्रतिशत अंक ल्याउँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तेस्रो भएको छ ।

आर्थिक वर्ष ०७७-७८ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठिमा न्यूनतम मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्यांकनमा उत्कृष्ट हुने अस्पताललाई सम्मानित गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले एक कार्यक्रमकाबीच शुक्रबार उत्कृष्ट अस्पतालहरुलाई सम्मानित गर्नुभएको हो ।

अस्पतालले प्रवाह गर्ने सेवा सुविधा, त्यसको प्रभावकारिता, कर्मचारी व्यवस्थापन, खर्चको पारदर्शिता लगायतका बिषयलाई मूल्यांकनको आधार मान्दै उत्कृष्ट अस्पताल घोषणा गर्ने गरिन्छ ।

अस्पतालका मेसु डा सुभाष पाण्डेले यो सम्मान सबै बर्दियाबासीको सम्मान भएको बताउनुभयो । उहाँले अस्पतालको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउने सवालमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech