नेपालगन्ज मेडिकल कलेजमा जारी आन्दोलन स्थगित, अस्पतालको सेवालाई प्रभावित पार्न नपाइने

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ९ दिन देखिको जारी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षतामा आज अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलन स्थगित भएको हो ।

अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलिय तथा सर्वपक्षिय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएको स्रोतले बताएको छ ।

शिक्षण अस्पतालका झन्डै ११ सय कर्मचारी सात बुँदे माग राखेर कार्तिक एक गतदेखि आन्दोलन गरिरहेका थिए । उनीहरुले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका थिए ।

उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनुपर्नेलगायतका माग राखेका छन् ।

अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक व्यवभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आएको छ । मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनले भन्दै आएको बिषयलाई यर्थाथ अध्ययन गर्नेछ ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech