वीपी प्रतिष्ठानको अनियमितताबारे छानबिन समितिले थाल्यो काम

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित उक्त समितिले धरानमा नै पुगेर स्थलगत अध्ययनका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गर्ने छ।

त्यसका लागि उक्त समितिका संयोजक मन्त्री खतिवडासहितका टोली आज बिहान धरान प्रस्थान गरेको छ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी पाएको समितिमा संयोजक खतिवडाका साथै सदस्यमा मन्त्रालयका सचिव डा रोशन पोखरेल र स्थानीय जनप्रतिनिधिका तर्फबाट सिनेट सदस्य एवं धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई रहनुभएको छ ।

सहकुलपतिस्तरीय छानबिन समितिले स्थलगत अध्ययन गर्ने र सम्भव भएसम्म निर्धारित २१ दिनभन्दा पहिले नै प्रतिवेदन बुझाउने योजना बनाएको मन्त्री खतिवडाले बताउनुभयो।

सो समितिलाई उक्त प्रतिष्ठानमा भएको विवाद अध्ययन गरी सुशासन, पारदर्शिता र यसअघिका अनियमितता सम्बन्धमा दोषी ठहर भएका व्यक्तिलाई निलम्वनको सिफारिससम्मको अधिकार छ।

कुलपतिस्तरीय निर्णयबाट सो समिति गठन गरिएको हो। २४ जना सिनेट सदस्यमध्ये एक चौथाइले कुलपतिसमक्ष छानबिनका लागि लिखित निवेदन दिएपछि कुलपतिको हैसियतले प्रधानमन्त्री देउवाले उक्त छानबिन समिति गठन गर्नुभएको हो ।

 

 

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech