नेपालगन्ज मेडिकल कलेजमा आन्दोलनकारीलाई खानानास्ता खुवाउन चन्दा संकलन !

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः तलवभत्ता वृद्धिलगायतका सात बुँदे माग राखेर आन्दोलन गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल आन्दोलन परिचालन समितिले कर्मचारीहरुबाट रकम उठाउन थालेको छ ।

आन्दोलनमा सहभागीहरुलाई खानानास्ता र चियापानीका लागि भनेर समितिले प्रत्येक कर्मचारीबाट रकम उठाउन थालेको कर्मचारीहरुले बताएका छन् । ‘आन्दोलनमा सहभागीलाई खानानास्ता खुवाउनु पर्छ भन्दै नेताहरुले सहयोग गर्नुस् भन्दै आउनुभयो–‘एकजना कर्मचारीले भने–‘मैले पाँच सय रुपैयाँ दिए ।’

समितिले कर्मचारीबाट तोकेरै रकम माग्ने गरेको ती कर्मचारीले बताए । आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बश्यालले पनि आन्दोलनका लागि रकम उठाएको स्विकार गर्नुभयो ।

आन्दोलनमा कर्मचारीलाई उतारिसकेपछि उनीहरुलाई खाजानास्ता, चियापानी खुवाउनै पर्छ, उहाँले भन्नुभयो–‘सदस्यता शुल्क (लेवी) उठाइएको हो ।’ युनियनमा आवद्ध भएका कर्मचारीहरुले लेवी बुझाउने गरेका छन् ।

लेवीवाफत निश्चित रकम तोकिएको छ । तर समितिले भने मनोमानी ढंगले रकम माग्ने गरेको कर्मचारीले बताएका छन् । ‘कर्मचारीले तलवभत्ता नपाएर प्रशासन विरुद्ध आन्दोलन गर्ने ती कर्मचारीले गुनासो गर्दै भने–‘फेरि कर्मचारीबाटै रकम माग्ने नेताहरुको यो कुन तरिका हो ?

सेवासुविधा वृद्धि, नियमित तलवभत्तालगायतका माग राखेर कार्तिक १ गतेदेखि अस्पतालका कर्मचारीहरु आन्दोलनमा छन् । उनीहरुले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका छन् । जस्का कारण बिरामीहरुको विजोग भएको छ ।

अस्पतालभित्र नारावाजी र होहल्ला गर्ने गरेका कारण भर्ना भएका बिरामीहरुले झिजो मान्ने गरेको दुखेसो गरेका छन् ।

 

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech