बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा उषा शाहको पेशागत जीवनका आरोह–अवरोह

दुई महिनापछि श्रीमान श्रीमति आए । यति खुसी थिएकी उनीहरुले मेरो हात तानेर माया गरे । त्यो म कहिल्यैं विर्सिन सक्दिन् ।


    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

डा उषा शाह, पश्चिम नेपालमा चर्चित नाम हो । तत्कालिन मध्य र सुदूरपश्चिमका बिरामीले शाहसँग सेवा नलिएका सायदै होलान् । त्यसमा पनि महिला । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शाहले मृत्युको मुखमा पुगेका कैयौं महिलालाई पुनःजिवन दिनुभएको छ ।

करिव चार दशक अघिको स्मरण गरौं । त्यतिबेला महिला डाक्टरको उपस्थिति कस्तो थियो होला ? त्यो पनि नेपालगन्जमा । काठमाडौंमै ठूलो सम्भावना हुँदाहुँदै डा उषाले मोफसलमै बिरामीलाई सेवा दिने अठोट गर्नुभयो । त्यसमा पनि आफ्नै गाउँठाउँमा ।

नेपालगन्ज निवासी ७० वर्षीया डा उषाले विस २०३५ सालमा भेरी अस्पतालबाट यसक्षेत्रका बिरामीलाई सेवा दिन थाल्नुभयो । सरकारी जागिरबाट सेवानिवृत्त भएपनि बिरामीप्रतिको सेवाभाव अनवरत चलिरहेकै छ । बरिष्ठ स्त्रीरोग विशेष शाहसँग पेशागत जीवनका आरोह–अवरोहबारे गरिएको कुराकानी ।

-हिंजोआजका दिनहरु कसरी वितिरहेको छ ?
क्लिनिकल काममै व्यस्त हुन्छु । रिटायर्ड हुनु अघि अस्पतालमा पुगेर बिरामीहरु हेर्थे भने अहिले क्लिनिकमा बसेर बिरामी हेरिरहेकी छु ।

-सरकारी ओहोदामा बसेर काम गर्दा र त्यहाँबाट रिटायर्ड भएर काम गर्दाको अनुभूति कस्तो हुँदो रहिछ ?
सरकारी जागिरे भएर अस्पतालमा काम गर्दा निकै व्यस्त हुनु पथ्र्यो । परिवार र आफ्नो लागि समयनै हुन्थेन् । रिटायर्डपछि साँच्चीकै जीवनमा खुसीको अनुभूति गरिरहेकी छु । खास जीवन भनेको के हो भन्ने अहिले महसुस भइरहेको छ । क्लिनिक काम त गरिरहेकै छु । तर आफ्नो कामको आफै स्वामित्व लिएर काम गरिरहेकी छु । आफ्नो अनुकूलको काम गर्दा कुनै तनाव नहुने रहिछ । एकदमै रमाइलो र खुसी महसुस गरिरहेकी छु ।

-हजुरको पुष्ठभूमि बताइदिनुस न ?
मेरो जन्म वि.स २००८ सालमा छिमेकी देश भारतमा भएको हो । बुवाको नाम शम्शेरजित जंग राणा र उर्मिला देवी राणा हो । मेरो दुई वटा दिदी र एकवटा वहिनी हो । मेरो जन्म मित्र राष्ट्र भारतमा भएपनि बुवा भने नेपालगन्जकै जमिन्दार हो । बुवाआमा उता (भारत)मा पनि बस्ने भएकाले मेरो शिक्षादिक्षा पनि उतै भयो । मेरो परिवार सम्पन्नशाली भएकाले सानोमा सुखसयलमै हुर्किए । मलाई पढ्नलाई गाह्रोसाह्रो केही भएन् ।

-सानैदेखि डाक्टर बन्ने सोच थियो ?
थिएन् । पढ्दै गए । आईएसी पास गरे । पढ्नमा मलाइ कुनै गाह्रो भएन् । किनभने म कलास फस्ट स्टुडेन्ट थिए । बुवाआमाको इच्छा थियो मेरो बच्चा डाक्टर बनोस् र आफ्नै गाउँघरमा बिरामीको सेवा गरोस् । किनभने त्यति बेला नेपालगन्जको स्वास्थ्य सेवा प्रभावकारी थिएन् । भेरी अस्पतालमा डाक्टर नै हुदैन्थे । डाक्टर नहुँदा बिरामीले सेवा पाउने कुरा पनि भएन् । त्यही भएर बुवाआमाको चाहनाले गर्दा म डाक्टर भए ।

-त्यो बेला महिला डाक्टर नै थिएनन् । खासै सोच पनि आउँदैन्थ्यो होला । त्यसमा पनि स्त्रीरोग विशेषज्ञ नै बन्छु भन्ने धारणा कसरी बन्यो ?
अहिलेजस्तो प्रयाप्त मेडिकल कलेजहरु हाम्रो पालामा थिएनन् । अहिले त बेड ५० प्रतिशत पूरा गर्यो र पैसा छ भने जो पनि डाक्टर भइरहेको छ । त्यो बेला यति सहज थिएन् । नेपालमा मेरीटोरेस स्टुडेन्ट स्कलरसीप पाउँथे । थोरै सिट हुन्थ्यो । ८-१० वटा भारतमा, २ वटा पाकिस्तानमा र केही रसियामा । एकदमै फेयर हुन्थ्यो । जस्को राम्रो अंक छ त्यसले छात्रवृत्ति पाइहाल्थ्यो । कक्षा फस्ट भएकाले मेरो एक नम्वरमै नाम निस्कियो र पाकिस्तानमा पढे । एमविविएस सकेर नेपाल फर्किएपछि वीर अस्पतालमा जागिर सुरु गरे । विस २०३४ सालमा वीरमा जागिर सुरु गरेको हो ।

-एमवीवीएस गरेर काम सुरु गर्दा र पछि एफआरसिओजी गरेर काम गर्दाको अनुभव कस्तो हुँदो रहिछ ?
एमवीवीएस र एफआरसिओजी गरेर काम गर्दा खासै मलाई फरक अनुभूति भएन् । पाकिस्तानको पञ्जाव युनिभर्सिटीको मेडिकल कलेजमा एमवीवीएस गर्दा नै हामीलाई राम्रो टे«न गराएको थियो । यतिसम्मकी इमरजेन्सी अप्रेशन (आपतकालिन शल्यक्रिया) म सबै गर्न सक्थे । भेरी अस्पतालमा २०३५ सालमा आउँदा म एमबीवीएस नै थिए । त्यतिबेला गाइनेदेखि, हर्निया, हाइड्रोसिल, बल्याटर स्टोनको पनि अप्रेशन गरियो । एफआरसिओजी गरेर आएपनि त्यही काम नै चलिरह्यो । हो, एफआरसिओजी गरेर आएपछि भने जीवनले पूर्णता पाएको जस्तो अनुभूति भयो ।

-भेरी अस्पतालको मेसु बनेर पनि काम गर्नुभयो ?
हो, अस्पतालमा रहेर सेवा दिँदा विभिन्न जिम्मेवारी निर्वाह गरे । २०३५ सालमा भेरी अस्पतालमा सेवा प्रारम्भ गर्दादेखि २०६२ सालमा म मेसु हुँदासम्म योबीचमा अस्पतालको भौतिक संरचनाहरु उस्तै हालतमा थियो । अहिलेको जुन गाइने ब्लक छ त्यो निर्माण मेरो पहलमा सम्भव भएको हो । मन्त्रालयदेखि विभिन्न दातृ निकायहरुलाई आग्रह गरिएपछि जिआइजेडले गाइने भवन बनाइदिएको हो । इमरजेन्सी ब्लकमा अहिले क्याथल्याव संचालनमा छ । त्योपनि धेरै प्रयासकाबीच सम्भव भएको हो । मलाई राम्रोसँग थाहा थियो, जुन संरचना छन त्यसले बिरामीलाई सेवा दिन सम्भव छैन भन्ने । किनभने भेरी अस्पताल यसक्षेत्रको रेफरल अस्पताल हो । यहाँ साविकका मध्य र सुदूरपश्चिमका बिरामीहरु आउने गर्छन् । त्यसैले थप संरचना आवश्यक थियो । अहिले जुन नयाँ संरचना बनिरहेको छ त्यसका लागि पनि म मेसु हुँदा देखि नै पहल गरिएको हो ।

-तपाई स्त्रीरोग विशेषज्ञकारुपमा कार्यरत रहँदा कस्ता खाले चुनौति थिए ?
अँ हो ! धेरै चुनौति थिए । अधिकांश हाम्रोमा कम्युनिटीकेटेट बिरामी आउथे । सर्जरी नै चाहिनु पर्ने । हामीसँग एनेस्थेसिस्ट डाक्टर थिएन् । (एनेस्थेसिस्ट भनेको शल्यक्रिया पूर्व बिरामीलाई वेहोस पार्ने डाक्टर) । ल्यावमा कहिले प्याथोलोजिष्ट भएन् । उपकरणको पनि त्यतिकै अभाव । थोत्रामोत्रा उपकरणले काम चलाउनु पथ्र्यो । दुर्गा प्रधान बालरोग विशेषज्ञ हुनुहुन्थ्यो । उहाँले नै एनेस्थेसिस्टको काम गर्नुु हुन्थ्यो । अव, आफै सोच्नुस् कति गाह्रो थियो होला । सबै कुराको अभाव थियो त्यो बेला । इमरजेन्सीमा बिरामीको चाप हुन्थ्यो । बिरामीलाई ओटीसम्म पुर्याउनु पर्यो भने आफै स्टिचर धकेलेर लग्नु पथ्र्यो ।

-लामो समय सेवा दिनु भयो । विभिन्न केसहरु हेर्नु भयो । एकदमै अविस्मरणीय केस जो अहिलेपनि मानसपटलमा ताजै छ । सुनाइदिनुस् न ?
त्यस्ता थुप्रै केसहरु छन् । तर एउटा केस भने निकै स्मरणयोग्य छ । मेरो पहिलो बच्चा हुनेवाला थियो । सुत्केरीका लागि मैल अस्पतालबाट विदा लिइसकेकी थिए । सुत्केरी हुन लखउन जाने तयारी थियो । किनभने यहाँ सुत्केरी गराउने म बाहेक अरु डाक्टर नै थिएनन् । त्यसैले म आफैले आफैलाई भेरीमा सुत्केरी गराउने अवस्था थिएन् । भोलिपल्ट विहानै लखनउ जाने तयारी थियो । राती सुतेको बेलामा एक्कासी डाक्टर साव, डाक्टर साव भनेर पिउनले कराए । मिश्र डाक्टर सावले बोलानुभएको छ अस्पताल जानु पर्ने भयो भनेर भने । त्यतिबेला निमित्त मेसु डा रामलला मिश्र हुनुहुन्थ्यो । उहाँ सिनियर सर्जन पनि हुनुहुन्थ्यो । बर्दियाको केश थियो । पाठेघर फुटेर छियाछिया अवस्थामा रहिछ । मिश्र डाक्टरले ति बिरामीलाई उषा डाक्टर साव हुनुहुदैन् लखनउ लैजाउ भनेर पनि भन्नुभएको छ । ती बिरामीका श्रीमानले ५० रुपैयाँमात्रै छ कसरी लैजाउ भनेर भनेछन् । त्यही भएर मिश्र डाक्टर सावले मलाई बोलाउनुभएको रहिछ । बिरामीको सबै अवस्था सुनिसकेपछि तत्काल शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यौं । कस्तो अप्ठ्यारो । दुईतीन दिनमा म आफै सुत्केरी हुनेवाला छु । निहुँरिन मिल्दैन् । त्यहिपनि अप्रेशनका लागि म तयार भए । र, अप्रेशन गरियो । त्यो एकदमै क्रिटिकल थियो । पाठेघर फुटेर छियाछिया थियो । बच्चा मरिसकेको थियो । रातारात शल्यक्रिया गरियो र, पाठेघर नै फालिदिउँ । भोलिपल्ट विहान लखनउ जानु अघि बिरामीलाई एकपटक हेरे । अवस्था ठिकै थियो । दुई महिनापछि श्रीमान श्रीमति आए । यति खुसी थिएकी उनीहरुले मेरो हात तानेर माया गरे । त्यो म कहिल्यैं विर्सिन सक्दिन् ।

-स्त्रीरोग विशेषज्ञको रुपमा सेवा गर्दा आफुलाई कहाँ पाउनु हुन्छ ?
आफुले गरेको सेवाबाट एकदमै सन्तुष्ट छु । मेरो प्रयासबाट सत प्रतिशत सेवा दिएकी छु । आफ्नो ज्ञानले शरीरले भ्याएसम्म बिरामीको सेवामा खर्चिए । आफुले गरेको सेवामा म सन्तुष्ट छु ।

-४२ वर्षदेखि तपाई डाक्टरी सेवा गरिरहनुभएको छ । त्यो सुरुवाती र अहिलेको अवस्थामा आउने बिरामीमा के कस्तो फरक पाउनुभएको छ ?
धेरै फरक छ । पहिले धेरै किसिमका समस्या भएका बिरामी आउने गरेका थिए । सुगर, उच्चरक्त चाप, रक्तश्रावका बिरामी धेरै आउथे । गर्भावस्थामा चेकअप गर्नुपर्छ भन्ने ज्ञानै थिएन । पहिले खुट्टा सुनिएका गर्भवति धेरै आउने गरेका थिए । अहिले त्यस्ता केशै देखिदैन भनेपनि हुन्छ । अहिले स्वास्थ्य सचेतना बढेको छ । अहिले उच्चरक्त चाप भएका केशै आउँदैन्। नियमित स्वास्थ्य चेकजाँच गर्नु पर्छ भन्ने सचेतना धेरै बढेको छ ।

-आफ्नो स्वास्थ्य समस्याबारे महिला कतिको खुलेर भन्न सक्छन् ?
हेर्नुस् पहिलाका महिलाहरु आफ्नो समस्याबारे भन्दै भन्दैनथे । लाज र डर मान्थे । तर अहिलेका योङ महिलाहरु भने आफ्ना समस्या खुलेर भन्छन् । जव सम्म खुलेर महिलाहरुले आफ्नो समस्या भन्दैनन् तवसम्म सहि उपचार सम्भव नहुन सक्छ ।

-पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने प्रवृत्ति बढेको छ नी हो ?
तपाईले भनेको कुरामा सत्यता छ । गर्भवति शल्यक्रियातर्फ आकर्षित हुनु स्वभाविक पनि हो । त्यो प्रसव पीडा महिलालाई मात्रै थाहा हुन्छ । हाम्रो पालामा सकेसम्म शल्यक्रियातर्फ हामीले प्रेरित गर्ने गरेका थिएनौं । त्यतिबेलाका महिलाहरुमा सहन्शक्ति पनि धेरै नै थियो । अहिलेका महिलामा सहन सक्ने शक्ति नभएको झै लाग्छ । अर्को कुरा, डाक्टरप्रतिको विश्वास हो । अहिले डाक्टरहरु जोखिम मोलेर सेवा दिने अवस्था छैन् । केही तलमाथि भइहाल्यो भने डाक्टरलाई दोष दिने प्रवृत्ति बढेको छ । डाक्टरमाथि दुव्र्यवहार गर्ने, अस्पताल तोडफोड गर्नेलगायतका अति नै निकृष्ट कार्य भइरहेका छन् । जस्का कारण पनि डाक्टरहरुले शल्यक्रिया गरेर सुत्केरी गराउनेक्रम बढेको छ ।

-डाक्टरको कमजोरी हुँदैन त ?
यसमा दुईवटा कुरा छ । डाक्टरले गल्ती नै गर्दैन, डाक्टरको कमजोरी नै हुदैन् भन्ने होइन् । डाक्टरको नियत बिरामीलाई दुःख दिनु पर्छ, मार्नु पर्छ भन्ने हुदै हुदैन् । तर काम गर्दा कमजोरी हुन सक्छ ।

-गर्भवति महिलालाई यहाँको सुझाव के छ ?
गर्भावस्था भनेको विशिष्ट अवस्था हो । त्यो गर्भवति महिलाले मात्रै बुझेर हुदैन् । घरपरिवारले पनि राम्रोसँग बुझ्नु पर्यो । पहिलाका महिलाहरुले भन्ने गरेको सुनिन्छ । हामी त खेत रोप्दारोप्दै छोराछोरी पायौं । काँखीमा च्यापेर आयौं । तर हामीले गाउँघरमै सुनेका छौं नि फलानोको बुहारी, छोरी बच्चा पाउँन नसकेर छट्पटाएर मरी । पेट चिरेर मरेको बच्चा निकालेर फालियो । यस्ता थुप्रै खवरहरु सुनिरहेका हुन्छौं । त्यसैले गर्भावस्थामा घरपरिवारले सबैभन्दा बढी केयर गर्नुपर्छ । खानेकुरामा विशेष ध्यान दिने । आराम गर्न दिने । आराम गर्न दिने भनेको अल्छी नै बनाउने भनेको चाही होइन् । स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गर्नु पर्यो । तर त्यहाँसम्म पुर्याउनका लागि पनि श्रीमान, सासु ससुराकै सहयोग आवश्यक पर्छ ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech