बाढीपहिरोले विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

बझाङः लगातारको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ ।

एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो । वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्‌का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो ।

केन्द्रीय लाइन अवरुद्ध भए पनि दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति सञ्चालन गरिएको छ । यद्यपि सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत् पुगेको छैन ।

विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्स रेजस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ ।

दैनिक सयौंको संख्यामा बिरामीहरू अस्पताल आउने गरेको र विद्युत् नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डाक्टर योगेन्द्र खातीले बताउनुभयो ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech