कोरोनाको डेल्टा प्लस भेरियन्ट अति चाँडो फैलिने

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

नेपालगन्जः बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकायले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ ।

सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ ।

तर, यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट संक्रमितलाई बचाउन सकिने उनीहरूको निष्कर्ष छ ।

बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या अत्यधिक धेरै देखिएको छ । तीमध्ये डेल्टा भेरियन्टबाट संक्रमितहरू नै धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले डेल्टा प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले दिएकोे विवरणानुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरियन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखापर्नुलाई आश्चर्यजनक रूपमा लिनु नपर्ने उनीहरूको भनाइ छ । अमेरिकामा पनि डेल्टा प्लस भेरियन्टका कारण धेरै मानिस संक्रमित भएको पाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी, डेनमार्कमा पनि यो भेरियन्ट देखिएको छ । तर, संक्रमितहरूको संख्या भने कम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । तर, उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरूले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रूप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरूले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रा समेत दिन थालेका छन् ।

साथै, मास्क लगाउने, स्यानिटाइजर वा साबुनपानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दूरी कायम गर्नेलगायत उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी, कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरूले आह्वान गर्ने गरेका छन् ।

कोरोनाभाइरसले रूप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरूले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरूले सतर्क गराएका छन् ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech