नेपालगन्ज मेडिकल कलेजमा कर्मचारी आन्दोलनः उपसचिव गुरागाईको संयोजकत्वमा समिति गठन

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गरेर सेवा प्रभावित पार्ने काम तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीले आन्दोलनरत कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।


    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले तलवभत्ता वृद्धिलगायतका सात बुँदे माग राखेर आन्दोलन थालेपछि त्यसको अध्ययन गर्न श्रम मन्त्रालयले समिति गठन गरेको छ ।

श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाइँको संयोजकत्वमा तीन सदस्यित समिति गठन भएको हो । समितिमा अस्पताल व्यवस्थापन पक्षबाट एक जना र कर्मचारीका तर्फबाट ट्रेड युनियनका एकजना सदस्य रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

एकहप्तादेखि आन्दोलन गर्दै आएका कर्मचारीले अस्पतालमा इमरजेन्सीबाहेक अन्य सबै सेवा ठप्प पारेका छन् । उनीहरुले तलवभत्ता बढाउनु पर्नेलगायतका माग राखेका छन् । ती माग सम्वोधन गर्न सक्ने अवस्था नरहेको अस्पताल प्रशासनले बताउँदै आएको छ ।

कोरोना महामारीका कारण अस्पताल घाटामा चलिरहेकाले कुनै पनि हालतमा माग सम्वोधन गर्ने अवस्था नरहेको अस्पतालका फाइनान्स शाखा प्रमुख श्याम शर्माले बताउनुभयो ।

आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले भने माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

यही माग राखेर दुई महिना अघि पनि कर्मचारीहरुले आन्दोलन गरेका थिए । त्यतिबेला श्रम कार्यालय नेपालगन्जको रोहवरमा बसेको बार्ता निष्कर्षहीन भएको थियो ।

श्रम कार्यालयले कर्मचारी र व्यवस्थापनबीचको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई पत्र काटेको थियो । सोही अनुसार, मन्त्रालयले मध्यस्तताकर्ताकोरुपमा उपसचिव गुरागाईलाई जिम्मा दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले गुरागाई छिट्टै आउने जानकारी दिनुभयो । समिति नै बनिसकेको अवस्थामा अस्पतालमा आन्दोलन गर्नु जायज नभएको उहाँको भनाइ छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गरेर सेवा प्रभावित पार्ने काम तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीले आन्दोलनरत कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।

सहमतिका लागि आज आइतवार पनि दुवै पक्षलाई छलफलका लागि बोलाउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसअघि शनिवार बसेको अस्पताल व्यवस्थापन, कर्मचारी र प्रशासनबीचको वार्ता विनानिष्कर्ष सकिएको थियो ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech