कण्डमका फाइदा र प्रयोग गर्ने तरिका

    • डा संकेत रिसाल

  • ६ कार्तिक २०७८, शनिबार

आज २७ औं राष्ट्रिय कण्डम दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाउँदैछन् ।

यस वर्षको कण्डम दिवसको नारा ‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने तय गरिएको छ । यो दिवस नेपालमा कोजाग्रत पूर्णिमा पछिको पहिलो शनिबार मनाइँदै आइएको छ ।

कण्डमका फाइदा र प्रयोग गर्ने तरिका

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो ।

कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ ।

के हो कण्डम ?
कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ रोक्नमा ९८ प्रतिशत प्रभावकारी प्रभावकारी रहन्छ ।
यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

कण्डमका फाइदा

अनिच्छित गर्भधारण हुनबाट बचाउने

सुरक्षित यौन सम्पर्क

प्रयोग गर्न सजिलो

सजिलैसँग किन्न पाइने

एचआईभी–एड्स जस्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने

यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने

एकपटक प्रयोग गरिसकेको कण्डम फेरि प्रयोग गर्नु हुदैन् ।

प्रयोग गर्ने तरिका

कन्डमको प्याकेटको एक छेउमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नुपर्छ।

योनिमा पुरुष लिंग छिराउनुअगाडि नै कन्डम सुल्टो पारी राख्नुपर्छ। खतना नगरेको भए अग्रचर्म (पुरुष लिंग ढाक्ने छाला)लाई पछाडितिर तान्नुपर्छ।

लिंगको टुप्पोमा नफुकाइएको कन्डम राखेपछि कन्डमको टुप्पातिर रहेको हावा बूढीऔँला र चोरऔँलाले च्यापेर निकाल्नुपर्छ।

कन्डम बिस्तारै फुकाउँदै उत्तेजित लिंगको टुप्पाबाट फेदतिर लगाउँदै जानुपर्छ। यसरी कन्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन।

यसको सट्टा कन्डम लगाउनुपूर्व नै फुकाएर लगाएमा लगाउन पनि गाह्रो हुन्छ र प्रभावकारी पनि हुँदैन।

यसरी सही तरिकाले कन्डम लगाइसकेपछि यौन सम्पर्क राख्नु ठीक हुन्छ।

कन्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन। थप चिल्लो पदार्थले कन्डम फुट्ने सम्भावना बढ्न सक्छ।

वीर्य स्खलन भएपछि लिंग शिथिल नहुँदै कन्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नुपर्छ।

कन्डमलाई विसर्जन गर्नुअघि फुटे-नफुटेको जाँच्नुपर्छ। कन्डम फुटेमा वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ।

योनि क्षेत्रमा वीर्य नपोखिने गरी, बिस्तारै कन्डमलाई लिंगबाट फुकाल्नुपर्छ। अनि प्रयोग गरिसकेको कन्डमको फेदलाई गाँठो बनाउनुपर्छ।

प्रयोग गरिसकेको कन्डमलाई उचित स्थानमा विसर्जन गर्नुपर्छ।

(डा. संकेत रिसाल, भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा एचआइभी फोकलपर्सन हुनुहुन्छ)

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech