नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्षले भन्यो–‘कर्मचारीका माग सम्वोधन गर्न सकिदैन’

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको व्यवस्थापन पक्षले कर्मचारीले उठाएका माग सम्वोधन गर्न नसकिने स्पष्ट पारेको छ ।

तलवभत्ता वृद्धिसहितको माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अस्पताल व्यवस्थापन पक्षले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजनागरी अस्पताललाई व्ययभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारेको हो ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि अस्पताल घाटामा चलिरहेकाले व्यवभार थप्नेगरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने अस्पतालका निर्देशक डा सुरेशकुमार कनोडियाले बताउनुभयो ।

अस्पतालको मुख्य आयस्रोत एमबीबीएस कार्यक्रम हो निर्देशक कनोडियाले भन्नुभयो–‘त्यो पनि कोभिडले प्रभावित हुँदा ठूलो नोक्सानी अस्पतालले वेहार्न बाध्य भएको छ यस्तो अवस्थामा आर्थिक व्यवभार थपिने माग सम्वोधन असम्भव छ ।’

अस्पतालमा ०७६-७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७-०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै छैन् । संस्था लसमा गइरहेको थाहा हुँदाहुँदै पनि तलवभत्ता बढ्नु पर्यो भनेर आन्दोलन गर्नु अराजकताको पराकाष्टा भएको उहाँको भनाइ छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आफ्ना निहीत माग राखेर सेवा प्रभावित गर्नु अराजकता भएको निर्देशक डा कनोडियाको टिप्पणी गर्नुभयो ।

कर्मचारीले जति आन्दोलन गर्दै जान्छन् त्यति नै असर उनीहरुलाई पर्ने निर्देशक डा कनोडियाको चेतावनी छ । उहाँले कर्मचारीको आन्दोलनबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइसकेको बताउनुभयो ।

कर्मचारीका मागका बिषयमा पटक पटक बार्ता भएको स्मरण गर्दै व्यवस्थापन पक्षबाट वार्ता टोलीका संयोजक बन्दै आउनुभएका अस्पतालका उपनिर्देशक श्याम शर्माले कर्मचारीको आन्दोलन अर्थहीन भएको बताउनुभयो ।

‘हामी वार्ताका लागि सधैं तयार छौं उहाँले भन्नुभयो –‘तर वार्ताका के का लागि ?’ यथास्थितिमा तलवभत्तालगायतका सेवा सुविधा बढाउन सक्ने अवस्थामा नरहेको स्पष्ट पार्दै उहाँले अन्य विषयमा आफुहरु सधैं सकारात्मक रहेको बताउनुभयो ।

अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कनोडियाले पछिल्लो पाँच वर्षदेखि अस्पतालको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउनुभयो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा बिरामीको फ्लो घट्दै गएकाले यसैपनि आर्थिकरुपमा अस्पताल कमजोर हुँदै गएको सहायक निर्देशक डा कनोडियाको भनाइ छ ।

‘सुर्खेतमा प्रादेशीक अस्पताल, जुम्लामा शिक्षण अस्पताल, सुदूरपश्चिमा पनि प्राइभेट अस्पतालहरु खुलिरहेका छन् उहाँले भन्नुभयो–‘बिरामीको फ्लो कम हुँदै गएपछि अस्पतालको आयस्रोतमा स्वभाविक प्रभाव परेको छ । त्यसमा कोभिडले झन असर ग¥यो ।’

तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर गएको कार्तिक १ गतेदेखि कर्मचारीहरु आन्दोलनमा छन । उनीहरुले आकास्मिक बाहेक अन्य सेवा ठप्प पारेका छन् ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech