भेरी अस्पतालकी नर्सिङ अधिकृत शीला शर्मा इन्टेग्रिटी आइकन घोषित (को हुन शीला) ?

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जकी नर्सिङ अधिकृत शीला शर्मा इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ । अकाउन्टबिलिटी ल्याव नेपालले देशभरीबाट मनोनयनमा परेका ३३५ जनाबाट छनौट गर्दै शर्मा इन्टेग्रिटी आइकन घोषित हुनुभएको हो ।

ल्यावले सरकारी सेवामा उत्कृष्ट सेवा प्रवाह गर्नेलाई इन्टेग्रिटी आइकन घोषित गर्दै आएको छ । कोरोना महामारीले निम्त्याएको जटिलताका बावजुत यस वर्ष अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको हो ।

ल्यावले सन २०१४ बाट उत्कृष्ट सरकारी कर्मचारी घोषित गर्दै आएको छ । इन्टेग्रिटी आइकन सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान भएको ल्यावले जनाएके छ ।

८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ । शर्माले कोभिड महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको ठहरसहित इन्टेग्रिटी आइकन घोषित गरिएको ल्यावले जनाएको छ ।

उहाँसँगै भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतम पनि इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ । यो वर्ष शर्मा, गौतमसहित पाँचजना इन्टेग्रिटी आइकन घोषित हुनुभएको छ ।

दिदिहरूलाई देखेर नर्स बन्ने रहर
शिला शर्मा वि.सं २०४२ सालमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा जन्मिनुभयो । उहाँको बाल्यकालको पढाई गाउँकै चुरे माध्यामिक विद्यालयमा भयो । उहाँका ठुलो बुबा र काकाका छोरीहरू नर्सिङ सेवामा हुनुहुन्थ्यो । उहाँ कहिलेकाहीँ दिदिहरूसँगै अस्पताल जाने गर्नु हुन्थ्यो ।

दिदिहरुले बिरामीको सेवा गरेको देख्दै गर्दा उहाँलाई पनि नर्स बन्ने रहर पलायो । कक्षा ८ मा पढ्दा उहाँले जसरी पनि नर्स बन्ने अठोट गर्नुभयो ।

पैसा तिरेर नर्स पढाउने परिवारको आर्थिक क्षमता छैन भनेर उहाँले राम्रोसँग बुझनुभएको थियो । त्यसैले पनि छात्रवृत्तीमा नाम निकाल्नुपर्छ भनेर उहाँले मेहनत गर्नुभयो । सोही अनुरुप २०५८ सालमा उहाँले एसएलसि उतिर्ण गर्निुभयो । छात्रवृत्तीमा प्रविणता प्रमाणपत्र तह पुरा गरेकी शर्माले छात्रवृत्ति पाएरै बिएन सक्नुभयो ।

दबाब र धम्किीको प्रवाह नगरी पीडितलाई उपचार तथा न्याय दिन तत्पर
२०७३ सालमा सरकारी सेवामा प्रवेश गरेकी शर्माले एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको जिम्मेवारी पाउनुभयो । बाँकेमा हिंसा पीडित महिलालाई उद्धार पश्चात कहाँ राख्ने भन्ने चुनौती थियो ।

माईती नेपालसँगको समन्वयमा सेफ हाउसको व्यवस्था गर्नुभयो । जहाँ हरेक वर्ष १८० जना लाभान्वित हुदै आएका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्रमा प्राय जसो घटनाहरु रातिको समयमा आउने गरेका छन् । तर, उहाँले कहिल्यै पनि थकित महसुस गर्नुभएन् । अहिलेसम्म उहाँले १५० भन्दा बढी केसहरु हेरि रहनुभएको छ ।

प्राय जसो घटनाहरु दर्ता भए पनि दवाबमा मिलाउन खोजिन्थे । उहाँ कहाँ पुगेका घटनाका पीडितले भने न्याय पाए । कतिपय घटनाका पीडकहरू उहाँलाई धम्कि पनि दिने गर्दछन्, तर उहाँ जिम्मेवारीबाट कहिल्यै पछि हट्नुभएन ।

उदाहरणको लागि, एकजना बालिका चिनेजानेकै व्यक्तिबाट बलात्कृत भएको घटना दर्ता भएको थियो । मुद्दा परिवर्तन गरिदिनुप¥यो भनेर उहाँलाई धम्की र प्रलोभन देखाईयो । उहाँले तत्काल प्रहरीलाई जानकारी गराउनुभयो । पीडितले न्याय पाईन । पीडकलाई कानून बमोजिम कारवाही भयो ।

व्यवस्थापकिय कार्यकुशलताले कोभिडका बिरामी बेड र अक्सिजन नपाएर फर्किनु परेन
एकद्वार संकटव्यवस्थापन केन्द्रको जिम्मेवारीमा रहेकै बेला नेपालमा पनि कोभिडको संक्रमण देखिन थाल्यो । भेरी अस्पतालले उहाँलाई कोरोना फोकल पर्सनको जिम्मेवारी दियो ।

कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । उहाँले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गर्नुभयो । नर्सहरूलाई तालिमको व्यवस्था गर्नुभयो । यहि बीचमा आईसोलेशन पनि तयार भयो । पहिलो र दोस्रो दुबै लहरमा नेपालगञ्ज कोरोनाको हटस्पट नै बन्यो ।

जताततै बेड, अक्सिजन र स्वास्थ्यकर्मीको अभाव थियो । भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो । उहाँले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाउनुभयो । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अक्सिजन राउण्डको व्यवस्था गर्नुभयो । त्यसका लागि अफ ड्युटी नर्सहरुले अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गर्नुभयो ।

परिवारको सदस्य गुमाउदा पनि विचलित नभएर जिम्मेवारीमा खटिईन
कोभिडकै कारण उहाँले ससुरा गुमाउनुभयो । सानो छोरा पनि संक्रमित भए । छोरालाई उहाँले माईतीमा छोडेर बिरामीकै सेवामा खटिनुभयो । उहाँको परिवारलाई जसरी प्रभावित ग¥यो, त्यसरी नै अरुको परिवारलाई प्रभावित नगरोस भनेर पनि उहाँ दिनरात कोभिड रोकथाममा खटिनुभयो । उहाँ र उहाँको टिमको प्रयासले भेरी अस्पतालले कोभिड रोकथाममा उदाहरणिय काम गर्न सफल भयो ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech