सरकारको लक्ष्यभन्दा बढीलाई कोरोना खोप

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई खोप लगाउने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसंख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्यांकमा लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो । मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ ।

अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने बताए। बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ । यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी पनि थालेको मन्त्रालयले जनाएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech