कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७८, सोमबार

नेपालगन्जः सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो।

अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट सेवाहरु प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।

बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ।

अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताउनुभयो ।

बिहानको समयमा दिइने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क भने नियमित शुल्कभन्दा धेरै तोकिएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ।

नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। खड्काका अनुसार अस्पतालको क्याविनमा बसेर सर्जरी सेवा लिनका लागि ५० प्रतिशत अतिरिक्त शुल्क तोकिएको छ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech