नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा, व्यवस्थापन पक्ष भन्छ–‘आन्दोलनको अर्थ छैन्’

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७८, सोमबार

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा आजदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिनुभयो ।

आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए भोलि मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने बताउनुभयो ।

यस्तै पर्सि बुधवार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने पनि उहाँले बताउनुभयो । तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

‘यहाँसम्मकी जोखिम भत्ता समेत हामीले पाएका छैनौं आन्दोलन परिचालन समितिका सहसंयोजक मुनिर खाँले भन्नुभयो–‘कोभिड महामारीमा ज्यानको जोखिम मोलेर नेपाल सरकारले दिएको भत्ता पनि नदिने ?’ उहाँले नाइट भत्ता, इन्चार्ज, लेखा र प्राविधिकहरुको पनि वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । माग सम्वोधन नभए थप सशक्त आन्दोलन गरी आन्दोलन परिचालन समितिका अर्का सहसंयोजक कुश्माखर बस्यालले बताउनुभयो । उहाँले यो आन्दोलन निर्णायक हो भन्नुभयो ।

व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

कोभिड महामारीका कारण अस्पताल दुई वर्षदेखि घाटामा चलिरहेकाले यही हालतमा आर्थिक व्ययभार पर्ने कुनै पनि सेवा सुविधा थप्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

‘उहाँहरु (कर्मचारी)को माग जायज छ, तर यही अवस्थामा माग सम्वोधन गर्ने स्थितिमा अस्पताल प्रशासन छैन् निर्देशक डा कनोडियाले भन्नुभयो–‘अस्पताल नै घाटामा चलिरहेकाले कसरी तलवभत्ता बढाउन सकिन्छ ?’ अस्पताल प्रोफिटमा लैजाने सवालमा कर्मचारीहरु पनि गम्भीर बन्नु पर्ने उहाँको भनाइ छ ।

अस्पतालको मुख्य आयस्रोत विद्यार्थी हुन् । तर पछिल्लो एक वर्षमा एकजना पनि एमबीबीएसमा विद्यार्थी भर्ना भएका छैनन् । कर्मचारी नेतालाई अस्पतालका सबै अवस्था थाहा हुँदाहुदै पनि आन्दोलन गर्नु उहाँहरुकै हित विपरीत हुने निर्देशक कनोडियाको भनाइ छ ।

‘अस्पताल प्रोफिटमा गए सबै सेवा सुविधा बढाउन तयार छौं उहाँले भन्नुभयो–‘आफै जोगी बन्न को तयार हुन्छ ?’ उहाँले कोभिड महामारीपनि क्रमश घट्दै गएको र अस्पतालको अवस्था पनि तंग्रीदै गएकाले एक वर्ष धैर्य गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech