होसियारीपूर्वक दसैँ पर्व मनाउन राष्ट्रपति भण्डारीको आग्रह

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७८, शुक्रबार

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । बडादसैंको शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवीले सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।

 

शुभकामना सन्देशको पूर्णपाठ

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको बडा दसैँ पर्वभित्र विशेष महत्त्व रहेको छ । वर्षाको हिलोमैलो पछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना‚ कृषि ‌औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ ।

यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय‚ भाषिक‚ भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा, बडा दसैँ पर्व, २०७८ ले हामी सबैमा नयाँ उत्साह‚ उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्‍वासका साथ कोभिड-१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु ।

धन्यवाद ।

२०७८ साल असोज २९ गते शुक्रबार ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech