कलेजोका बिरामीहरुले दसैँमा कस्तो खानपान गर्ने ?

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७८, मंगलवार

अत्यधिक रातो मासु र मादक पदार्थको सेवन कलेजोलाई खराब गर्ने कुराहरु हुन्। नियमित रुपमा गरिने अनियन्त्रित खानपान र मादक पदार्थले कलेजोलाई बिर्गान सक्छ।

दसैँमा अधिकांशले अत्यधिक मासु खाने, मादक पदार्थको सेवन गर्छन्। जसले गर्दा कलेजोलाई असर गर्ने संभावना अत्यधिक हुन्छ। स्वस्थ मानिसको कलेजोमा असर गर्न सक्छ भने समस्या भएका बिरामीलाई थप असर गर्न सक्छ। त्यसैले दसैँको खानपानमा कलेजोका बिरामीहरुले विशेष ध्यान दिन आवश्यक छ।

कलेजोका बिरामी र दसैँसँग सम्बन्धित रहेर हामीले कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

दसैँमा कलेजोका बिरामीहरुले खानपानमा ध्यान दिन किन जरुरी छ?
– कलेजोका बिरामीहरु दुई किसिमका हुन्छन्। एक, लिभर सिरोसिर र दोस्रो, फ्याट्टी लिभर।
– कडा खालको अर्थात् लिभर सिरोसिस भएका बिरामीले दसैँमा मात्र नभई अन्य बेला पनि खानपानमा ध्यान दिनुपर्छ।
– लिभर सिरोसिस भएका बिरामीले रातो मासु खान हुँदैन। सेता मासु कम खान मिल्छ।
– फ्याट्टी लिभर भएका बिरामीहरु धेरै माछा मासु, चिल्लो र मादक पदार्थ सेवनले समस्या बढेर आउँछन्।

कलेजोका बिरामीहरुले दसैँमा कस्तो खानपान गर्ने?
– सुरुमा कलेजोको रोग लाग्न नदिन सन्तुलित खाना खानुपर्छ।
– शरीरको तौल र आवश्यकता अनुसार खानाको मात्रा मिलाएर खानुपर्छ।
– कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खाए त्यसले कलेजो सहित अन्य अंगमा पनि असर गर्छ।

विगतका दसैँमा खानपानमा ध्यान नदिँदा समस्या बढेर आउने बिरामीको अवस्था कस्तो छ?
– एउटा ठूलो जमात नै मादक पदार्थको सेवनका कारण कलेजो बिग्रिएर आउनेहरु छन्।
– अर्को, धेरै चिल्लो र बोसो भएको खानेकुरा खाएर कलेजोमा बोसो लागेर आउने बिरामीहरु पनि छन्।
– धेरैले दसैँमा अलि ध्यान नदिइकन धेरै माछा मासु र मादक पदार्थ सेवन गरेको पाएका छौँ।
– मादक पदार्थको अत्यधिक प्रयोगले कलेजो सुन्निएर आउनेहरु हुन्छन्।
– कलेजोमा धेरै बोसो लागेर समस्या बढेर आउनेको संख्या पनि छन्।

चाडपर्वको समयमा खानपान लिएर बिरामीहरु परामर्श गर्न आउँछन्?
– चाडपर्वको अगाडि कतिसम्म मादक पदार्थ सेवन गर्न मिल्छ भन्ने प्रश्न लिएर आउनेहरु धेरै छन्।
– केहीले त चाडपर्वमा माछा मासु खानुपर्छ मासु पचाउन औषधि दिनुस् भनेर पनि बिरामीहरु आउँछन्।
– तर कलेजो बचाउन फाइबरयुक्त खानेकुरा, फलफूल बढी मात्रामा खानुपर्छ। माछा मासु कम खाने र मादक पदार्थ खानु हुँदैन।
– चिकित्सकले खानु हुँदैन भनेका खानेकुराहरु बिरामीले बिर्सिएर पनि खानु हुँदैन।

दसैँमा खानपानमा ध्यान नदिँदा कलेजोमा कस्तो खालको समस्या बढ्छ?
– कलेजोमा भइरहेका रोग तथा समस्याहरु थपिने हुन्छ।
– पेट दुखेर, जण्डिस बढेर पनि बिरामीहरु आउँछन्।
– लिभर सिरोसस भएका बिरामीले अनावश्यक रुपमा खानपान गर्दा ती बिरामीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउँछ।
– कलेजोले फाल्ने विकार चिजहरु कलेजोले फाल्न सक्दैन र कलेजोको काममा असर पर्छ।

अन्त्यमा यहाँको सुझाव के छन्?
– कलेजोमा समस्या भएका बिरामीहरुले आफ्नो चिकित्सकले दिएका सुझावहरुलाई फलो गर्नुपर्छ।
– समस्या नभएका व्यक्तिले पनि अत्यधिक रातो मासु खाने, मादक पदार्थको सेवन गर्नु हुँदैन। फलफूल र तरकारी बढी खानुपर्छ।
– खानपानसहित स्वस्थ जीवनशैलीमा ध्यान दिन मेरो सुझाव छ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech