कोभिड महामारीमा लुम्बिनी प्रदेश सरकारद्धारा भर्ना गरिएका स्वास्थ्यकर्मी कटौतीको तयारी

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको नविकरण नहुने भएपछि उनीहरु मर्कामा परेका छन् ।


    • प्रियास्मृति ढकाल

  • २१ आश्विन २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः लुम्विनी प्रदेश सरकारले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको संख्या कटौती गर्ने भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि अस्थायी दरवन्दीमा भर्ना भएका अधिकांश स्वास्थ्यकर्मीको दरवन्दी नविकरण नगर्ने भएको हो ।

तर कर्मचारी कटौतीको अख्तियारी भने अस्पताललाई दिइएको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास आचार्यले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । कोरोना महामारीकै लागि अस्थायीरुपमा भर्ना गरिएका कर्मचारी संक्रमण दर घट्दै गएपछि कटौती गर्नु स्वभाविक प्रक्रिया भएको पनि उहाँको भनाइ छ ।

कोरोना संक्रमणको दर, अस्पतालमा बिरामी भर्ना दरलगायतको मूल्याङ्कन गरेर अस्पताललाई स्वास्थ्यकर्मी संख्या कटौती गर्न भनिएको पनि उहाँले बताउनुभयो ।

प्रदेश सरकारले पहिलो र दोस्रो महामारीमा प्रदेशका चारवटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मी भर्ना गरेको थियो ।

भेरी अस्पताल नेपालगन्ज, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङ, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा अस्थायी दरवन्दी सिर्जना गरेर प्रदेश सरकारले विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टाफनर्स, ल्याव टेक्निसियन, सरसफाइकर्मी भर्ना गरेको थियो । भेरी अस्पतालमा मात्रै १ सय ५३ जना स्वास्थ्यकर्मी भर्ना भएका थिए ।

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको नविकरण नहुने भएपछि उनीहरु मर्कामा परेका छन् ।

भेरी अस्पतालका मेसु डा वीरेन्द्रबहादुर चन्दले प्रदेश सरकारले असोज महिनासम्मको मात्रै तलवभत्ता पठाएको जानकारी दिनुभयो । ‘प्रदेश सरकारले बजेट नपठाएपछि अस्पतालले के नै गर्न सक्छ र ? मेसु डा चन्दको भनाइ छ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech