रेडक्रसले भन्यो–‘सटर भत्काउने भेरीको निर्णय हठात्

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७८, बुधबार

नेपालगन्जः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले भेरी अस्पताल विकास समितिको सटर भत्काउने कामलाई हठात् भनेको छ ।

अस्पताल विकास समितिले अस्पतालको स्तरवृद्धि र सौन्दर्यकरणका लागि भन्दै अस्पतालले अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन थालेपछि रेडक्रसले उक्त निर्णयलाई हठात् भनेको हो ।

अस्पताल परिसरभित्र रेडक्रसको दुई तले रक्तसंचार केन्द्र छ भने त्यही भवनसँग जोडिएको पूर्वतर्फ ६ सटरसहितको एक तले भवन छ । २०४६ सालमा मन्त्रिपरिषद्को निर्णयबाट अस्पताल विकास समितिले एक हजार इस्क्वायर फुट जग्गा प्रदान गरेको थियो ।

त्यो भवनमा रक्त संचार केन्द्र छ, भने नगर विकास समितिले उपलब्ध गराएको जग्गामा ६ सटरसहितको एक तले भवन छ ।

ती भवनसहितको सटर भत्काउन अस्पताल विकास समितिले रेडक्रसलाई १५ दिने अल्मिेटम दिएको थियो ।

अस्पतालको स्तरवृद्धि र सौन्दर्यकरणका लागि आफुहरु सहमत भएपनि हठात्रुपमा संरचना भत्काएर रक्तसंचार जस्तो अति संवेदनशील बिषयमा अस्पताल विकास समिति गैरजिम्मेवार बनेको रेडक्रस बाँकेका सभापति गोर्बधनसिंह सम्झनाले बताउनुभयो ।

‘हाम्रो संस्था त मानवीय सहयोगका लागि स्थापना भएको संस्था हो सभापति सिंहले भन्नुभयो–‘ तत्काल उठाएर कहाँ लैजाने ?’ उहाँले रक्तसंचार केन्द्र स्थापनाका लागि जग्गाको व्यवस्थापन देखि भवन निर्माण गर्न समय लाग्ने भएकाले तत्काल अस्पताल विकास समितिले निर्णयलाई कार्यान्वयन गर्न मानवीय हिसावले पनि सम्भव नभएको उहाँको भनाइ छ ।

रक्त संचार केन्द्रले वार्षिक १५ देखि २० हजार पिन्ट रगत संकलन तथा वितरण गर्दै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहित छिमेकी देश भारतका बिरामीलाई समेत रक्त सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

रक्तसेवा त अस्पताल स्वयमलाई पनि अतिआवश्यक र संवेदनशील बिषय भएकाले अस्पताल विकास समितिले हठात्मा संरचना भत्काउने र घरखाली गर भन्नु मानवीय दृष्टिकोणबाट समेत मनन्योग्य नभएको सभापति सिंहको भनाइ छ ।

नगर विकास समितिले रक्तसंचार केन्द्रको आर्थिक सहयोर्गाथ भनेर केन्द्रको पूर्वतिर जग्गा प्रदान गरेको थियो । त्यहीजग्गामा सटरहरु निर्माण भएका थिए । र, एक तले भवनमा रेडक्रसका आवश्यक सामाग्री भण्डारण गरिएको छ ।

अस्पतालको निर्णयप्रति स्थानीय प्रशासन, राजनीतिक दललगायतलाई गुहारिसकेको रेडक्रसले आज यसैबिषयमा जानकारी गराउन पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech