यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७८, मंगलवार

नेपालगन्जः यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि जापान ट्रष्ट फन्डको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित परियोजनाले लक्ष्यभन्दा दोब्बर सफलता हासिल गरेको छ।

छ दशकभन्दा वढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिराखेको संघले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक र मकवानपुरमा सो परियोजना कार्यान्वयनमा ल्याइएको थियो। किशोरकिशोरी तथा महिलालाई यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवामा पहुँच पुर्‍याउने मुख्य ध्येयले सञ्चालित परियोजना यही महिनाबाट समाप्त हुँदैछ। परियोजनाले दुई वर्षका अवधिमा ७१ हजार १२५ लाई सेवा प्रदान गरेको जनाइएको छ।

विसं २०७२ को गोरखा भूकम्प तथा हालैको मेलम्चीको बाढी प्रभावित किशोरकिशोरी तथा महिलालाई एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवा प्रदान गर्न सो परियोजना सफल भएकाले संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यही असार १ गते सो मेलम्ची नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरी ८० महिलालाई ‘डिग्निटी किट्स’ प्रदान गरिएको थियो।

शिविरमा पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती सेवा, परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा, प्रयोगशाला सेवा, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको जनाइएको छ। विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्दछ।

साथै ती जिल्लामा विद्यमान बाल तथा मातृमृत्युदर न्यूनीकरण गर्न परियोजनाले कोशेढुङ्गाका रुपमा काम गरेको छ। संघले परियोजनाको सहयोगमा कोरोना महामारीका बन्दाबन्दीमा स्थानीय साथी शिक्षकमार्फत परिवार नियोजन, सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर रोगको जाँच, सुरक्षित मातृत्व, एचआइभी तथा एड्स, यौन सङ्क्रमण, प्रयोगशाला, घुम्ती स्वास्थ्य सेवा, यौन तथा प्रजनन स्वास्थ्य परामर्श सेवालाई निरन्तरता दिएको थियो।

मकवानपुरका एक हजार २०० चेपाङ समुदायमा परियोजनाले एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवा प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ “सेवाग्राहीमध्ये २४ प्रतिशत सेवाग्राही किशोरकिशोरी तथा युवायुवती छन्। एचआइभी परीक्षण तथा परामर्श सेवा २३ प्रतिशत किशोरकिशोरी तथा युवायुवतीलाई प्रदान गर्दा एचआइभी सङ्क्रमण शून्य पाइएको छ।”

संघले पछिल्लो समय सुरक्षित यौन व्यवहारसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा समुदायमा सञ्चालन गर्दै आइरहेको छ। विज्ञप्तिमा २०० सेवाप्रदायक तथा साथी शिक्षकलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको तथा प्रभावित क्षेत्रका रेडियो कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभीसम्बन्धी शिक्षा, जानकारी र सूचना प्रभाव गरिएको विज्ञप्तिमा उल्लेख छ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech