विश्व मुटु दिवस: नेपालगन्जमा साइक्लिङ (फोटो फिचर)

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

नेपालगन्ज: आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँने गरिन्छ ।  दिवसका अवसरमा नेपालगन्ज सहित देशैभर विविध कार्यक्रम हुदैछन् । यो वर्ष ‘युज हार्ट टु कनेक्ट’ भन्ने नाराका साथ यो दिवस मनाईदै छ ।

दिवसको अवसरमा आज बिहान नेपालगन्जमा साइक्लिङ कार्यक्रमको आयोजना गरियो । स्वस्थ मुटुका लागि नियमित शारीरिक व्यायम महत्वपूर्ण भएकाले साइक्लिङ कार्यक्रमको आयोजना गरिएको हो । नेपालगन्ज साइक्लिङ क्लबले भेरी अस्पताल, क्रियटिभगञ्ज लगायतसँगको सहकार्यमा कार्यक्रम गरेको हो ।

भेरी अस्पताल सन्चालक समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भेरी अस्पतालका मुटु रोग विशषज्ञ डा.कृष्ण अधिकारीले मुटु दिवसको औचित्य तथा मुटुलाई स्वस्थ राख्नुपर्ने कारण र उपायका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले मुटु स्वस्थ राख्न नियमित रुपमा दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साइक्लिङ त्यसको राम्रो माध्यम भएको बताउनुभयो ।

कार्यक्रममा भेरी अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा सुरेश कुमार कनोडिया लगायतको सहभागिता रहेको थियो ।

साइकल र्याली भेरी अस्पतालबाट सुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु बीक चौक, बास पार्क, बाइपास कारकादो चोक, पुष्पलाल चौक, धम्बोजी चौक, बिपी चौक हुँदै औद्योगिक क्षेत्र नजिक रहेको नेसनल प्याथ ल्याबमा आएर समापन भएको थियो ।

साइक्लिङमा सहभागीहरुलाई नेशनल प्याथ ल्याबले नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । रक्तचाप, मधुमेह लगायतका जाँच नि:शुल्क गरिएको जिके फर्माका सञ्चालक अवध शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समय बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ । विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटुका समस्या भएका बिरामीको संख्या बड्दै गएको भेरी अस्पतालका कार्डियोलोजिस्ट डा.विकास नेपाल बताउँनुहुन्छ ।

मुटुलाई स्वास्थ राख्न नियमित शारीरिक व्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्नुपर्छ । साथै चिन्ता, तनावलाई कम गनुपर्ने हुन्छ । मुटुरोग विशेषज्ञ डा।नेपालका अनुसार खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।

तस्बिर सौजन्य: गगन थापा

 

 

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech