पश्चिम नेपालमा पहिलो पटक आईसीयू संचालन सम्बन्धित तालिम

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७८, सोमबार

नेपालगन्जः पश्चिम नेपालमै पहिलो पटक आईसीयू संचालन सम्बन्धि दुई दिने तालिम आजदेखि नेपालगन्जमा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मेडिकल अधिकृत तथा नर्सिङ कर्मचारीलाई लक्षित गरेर आयोजना गरिएको तालिम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा सुरु भएको हो ।

यसअघि यस्ता तालिमहरु काठमाडौंमा हुने गरेका थिए । यो पटक भने मोफसल बाहिर मेडिकल कलेज कोहलपुरमा आयोजना गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना तथा लर्डबुद्ध एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशका सरकारी अस्पतालका मेडिकल अधिकृत तथा नर्सिङ स्टाफहरुलाई आईसीयू संचालनदेखि क्रिटिकल केशहरुको व्यवस्थापनमा दक्ष बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

कोहलपुर मेडिकल कलेजले कोरोना महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको स्मरण गर्दै मन्त्री भण्डारीले भन्नुभयो–‘आईसीयू संचालन, क्रिटिकल केशको व्यवस्थापन, उपचारलगायतमा मेडिकल कलेजका कर्मचारी दक्ष देखिएकाले यहीबाटै तालिम लिँदा अनुभव शेयर हुने र परिष्कृत हुन पनि सहज हुनेछ ।’

तालिम उद्घाटनमा बोल्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिमको स्वास्थ्यलाई गुणस्तरीय र प्रभावकारी गराउनका लागि यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा सुरेसकुमार कनोडियाले सिकेको सीपलाई व्यवहारीकरुपमा कार्यान्वयनमा लैजान सुझाव दिनुभयो ।

विभिन्न अस्पतालका ९ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सगरी २४ जना सहभागी रहेको तालिममा एनेस्थेसिया विभागका प्रा डा रेशमबहादुर रानासहित, एसआइसीयू, एमआइसीयू इन्चार्जलगायतले तालिम दिनु हुने अस्पतालका सह–निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech