कोहलपुरमा विद्यालय गएका बालबालिका बिरामी पर्दै, अभिभावक त्रसित

बल्लतल्ल खुलेका विद्यालय बन्द हुने डरले विद्यालयहरुले जोखिम मोलेरै भएपनि विद्यालय खोलिरहेका छन् ।


    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोहलपुर नगरपालिका–१० स्थित तक्षशिला एकेडमी कक्षा तीनमा अध्ययनरत विद्यार्थी तीन दिन देखि विद्यालय गएका छैनन् । विद्यालय खुलेलगत्तै उत्साहित भएर अभिभावकले आफ्नो छोरालाई विद्यालय पठाएका थिए ।

महिनौ दिनपछि विद्यालय जान पाउँदा उनी पनि खुसी थिए । तर विद्यालय गएको केही दिनमै उनलाई ज्वरो आयो । ‘ज्वरो नै १०३ डिग्री पुगेको थियो स्वास्थ्य पेजसँग सम्पर्कमा आएका उनका वुवाले भने–‘उपचार गरेर अहिले औषधि खाइरहेको छ, केही केन्ट्रोल भएको छ । तर विद्यालयको पठाएको छैन् ।’  ती बालकमा ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिएपनि उनले पीसीआर परीक्षण भने गराएका छैनन् ।

कोहलपुर नगरपालिका–१४ मा रहेको राम मावि कक्षा ७ मा अध्ययनरत छात्रालाई दुई दिन देखि ज्वरो आइरहेको छ । उनीपनि औषधि खाएर घरमै आराम गरिरहेकी छन् । उनीहरुमात्र होइन कोहलपुरका अधिकांश विद्यालयका विद्यार्थीहरुमा यस्तै लक्षण चिन्ह देखिन थालेका छन् । विद्यालय जान थालेको केही दिनमै छोराछोरीहरु बिरामी पर्न थालेपछि अभिभावकहरु आत्तिन थालेका छन् ।

तर विद्यालयहरुले यसबारेमा औपचारिक जानकारी न अभिभावकलाई दिने गरेका छन न त जानकारी लिने गरेका छन् । त्यस्ता लक्षण चिन्ह भएका विद्यार्थीलाई घरमै बस्न अनुरोधबाहेक उनीहरुले अन्य विद्यार्थीहरुमा पर्ने असरबारे भने वेवास्ता गर्ने गरेको पाइएको छ । बल्लतल्ल खुलेका विद्यालय बन्द हुने डरले विद्यालयहरुले जोखिम मोलेरै भएपनि विद्यालय खोलिरहेका छन् ।

कोहलपुर नगरपालिकाले विद्यालय संचालनको मापदण्ड निर्धारण गरेको छ । विद्यार्थीलाई मास्क, सेनिटाइजर अनिवार्य छ । विद्यालयले त्यही अनुसारको भौतिक दुरीको पालना गर्ने, डेस्कबेच्न सेनिटाइज गर्नेलगायतका स्वास्थ्यका मापदण्ड अपनाएर पठनपाठन गराउनु पर्ने अनिवार्यजस्तै छ । तर अधिकांश विद्यालयमा जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना हुुन सकेको छैन् ।

न, सम्वद्ध सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन नै हुन सकेको देखिन्छ । भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा कोरोना फोकलपर्सन डा संकेत रिसाल स्वास्थ्यकर्मीबाहेकका व्यक्ति डाक्टर बन्दा बालबालिकाको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएको बताउँनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले नै विद्यालय खोल्न हतार नगर्न शिक्षा मन्त्रालयलाई पत्रै पठाएको छ । स्कुले बालबालिकाहरु खोपको पहुँच भन्दा बाहिर छन् । यस्तो अवस्थामा बालबालिकाको स्वास्थ्य अवस्थालाई जोखिममा राखेर विद्यालय खोल्नु उपयुक्त नहुँने उहाँको तर्क छ ।

बरु स्थानीय सरकारले बालबालिकाहरुको खोपको व्यवस्थापनका लागि तयारी गर्नुपर्ने उहाँको राय छ । दोस्रो लहरको भाइरस संक्रमणमा बेहोरेको पीडा नभुल्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

बाँकेकै तथ्यांक हेर्ने हो भने अहिलेसम्म ९ वर्ष मुनिका बालबालिकामात्रै करिव साढे चार सयको हाराहारीमा कोभिड संक्रमित भइसकेका छन् ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech