आजदेखि देशभर भेरोसेल खोप वितरण हुँदा बाँकेमा कहिले हुन्छ ?

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७८, सोमबार

नेपालगन्जः सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । बाँकेमा भने कहिले खोप लगाउने भन्नेबारे टुंगो लागि नसकेको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड १९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ ।

काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने छ । सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ । परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ । आजदेखि सुरु खोप अभियान आउँदो १४ गतेसम्म चल्ने छ ।

अहिले पहिलो डोज लगाएकालाई कार्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech