जनशक्ति अभावमा अस्पतालमै थन्किए आईसीयू र भेन्टिलेटर

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

नेपालगन्जः जिल्ला अस्पताल डोल्पामा दुई बेड आईसीयू र एउटा भेन्टिलेटर छन् । कोरोना महामारीलाई लक्षित गर्दै किनिएका ती आईसीयू र भेन्टिलेटर एक वर्षदेखि थन्किएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा न जनशक्ति छ, न पूर्वाधार । यहीकारण ति उपकरण प्रयोगविहीन बनेका हुन् ।

‘आईसीयू र भेन्टिलेटर चलाउनका लागि जनशक्ति नै छैन’ जिल्ला अस्पतालका डाक्टर प्रशन्न कार्की भन्नुहुन्छ–‘आईसीयू र भेन्टिलेटर खरिद गरेदेखि एक पटक पनि प्रयोग गर्न सकिएको छैन ।’ अक्सिजन, विद्युत र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न नसकिएको डाक्टर कार्कीले बताउनुभयो ।
जनशक्ति नभएपछि आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने विरामीलाई नेपालगञ्ज तथा काठमाडौं रिफर गर्ने गरिएको छ । यसले उपकरण भएर पनि उपचार नपाउँदा डोल्पालीको उपचार खर्च बढेको छ । यस्तै जिल्ला अस्पताल सल्यानमा ६ बेड भेन्टिलेटर र ६ बेड आईसीयू छन् ।

त्यहाँ पनि कोरोना महामारीकै समयमा आईसीयू र भेन्टिलेटर खरिद गरिएका हुन् । तर लाखौं रकम खर्चर खरिद गरिएका ती उपकरण पनि एक वर्षदेखि थन्किएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि त्यहाँ पनि जनशक्ति र पूर्वाधारको अभाव छ । ‘भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छैन’ सल्यान जिल्ला अस्पतालका डाक्टर प्रदिप शर्माले भन्नुभयो–‘जनशक्ति र पूर्वाधार नभएपछि आईसीयू र भेन्टिलेर स्टोरमै थन्किएका छन् ।’

सल्यानमा भेन्टिलेटर र आईसीयू कक्षका लागि भवन पनि अभाव छ । विद्युतको समस्याले भेन्टिरलेटर सञ्चालन गर्न सम्भव नभएको डाक्टर शर्माको भनाइ छ ।

करोडौं रकम खर्चिएर खरिद गरिएका आईसीयू र भेन्टिलेटर जनशक्ति र पूर्वाधारको अभावका कारण थन्काउनु परेको छ।

आईसीयू र भेन्टिलेटर सञ्चालन नहुँदा गम्भिर विरामीलाई जिल्ला अस्पतालले दाङ, सुर्खेत र नेपालगञ्ज रिफर गर्दै आएको छ । डोल्पा र सल्यानमा मात्रै होइन, कर्णालीका अन्य अस्पतालहरुमा पनि करोडौंका २२ बेड आईसीयू र १२ वेड भेन्टिलेटर धन्काइएका छन् । एउटा भेन्टिलेटरको मूल्य २५ लाख रुपैयाँभन्दा बढी पर्छ।

आईसीयू बेडको पनि कम्तिमा एक लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पर्छ । तर मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, दैलेख र सल्यान जिल्ला अस्पतालमा करोडौं रकम खर्चिएर पुन्याइएका आईसीयू र भेन्टिलेटर थन्किएका आईसीयू र भेन्टिलेटर थन्किनुको एउटै कारण जनशक्ति र पूर्वाधारको अभाव हो ।

कालीकोट बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू चलाउन सक्ने जनशक्ति र अक्सिजन प्लान्ट पनि छैन ।

कालीकोटमा जनशक्ति र अक्सिजन भए पनि विद्युत अभावका कारण आईसीयू र भेन्टिलेटर थन्किएको अस्पताल प्रमुख डाक्टर रत्नवीर सुनारले बताउनुभयो। ‘आफैले आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्छु उहाँले भन्नुभयो–‘विद्युत अभावका कारण सञ्चालन गर्न सकिएको छैन ।’

जेनेरेटर तथा ब्याट्रिब्याक व्यवस्थापन भएको खण्डमा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सकिने उहाँको भनाइ छ। मुगु, डोल्पा, जाजरकोट र सल्यान अस्पतालमा आईसीयू कक्षको लागि भवन अभाव छ। राष्ट्रिय विद्युत लाइन नपुगेका मुगु, हुम्ला र डोल्पा अस्पतालमा आईसीयू भेन्टिलेटर सञ्चालन गर्ने क्षमताका जेनेरेटर समेत छैनन् ।

कोरोना महामारीकै बेला केन्द्र र प्रदेश सरकारले करोडौं बजेट खर्चिएर हरेक जिल्लाहरुमा आईसीयू र भेन्टिलेटर लगायतका उपकरणहरु पुऱ्याएका छन् । तर जनशक्ति र पूर्वाधार अभावका कारण करोडौंका आईसीयू र भेन्टिलेटर बर्ष दिनदेखि थन्काउनु परेको हो ।

बर्षौदेखि प्रयोगमा नआएर आईसीयू र भेन्टिलेटर आफैं बिनिँदै जाने सम्भावना हुन्छ । यदि प्रयोगमा नआएर आईसीयर भेन्टिलेटर बिग्रिएको खण्डमा सरकारको करोडौं रकम बालुवामा पानी खन्याए सरह हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । साथै उनीहरुले तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गरेर उपकरण संचालन गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

 

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech