शिशुमा डवल ट्याग प्रकरणः भेरी अस्पतालका स्वास्थ्यकर्मीको लापरवाही

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७८, सोमबार

नेपालगन्जः भेरी अस्पतालमा गएको भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानविन समितिले निष्कर्ष निकालेको छ । त्यहीअनुसारको प्रतिवेदन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको छ ।

अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम संस्कार गर्नेक्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको टयाग लागेको देखिएको थियो ।

एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरीमै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानविन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका बिषयमा सहमति भएपछि पीडितका आफन्तहरुले आन्दोलन रोकेका थिए ।

छानविन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहो¥याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ ।

एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि निर्देशन दिएको छ । समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार समेत स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य बसन्त गौतमले जानकारी दिनुभयो ।

बालरोग बिशेषज्ञ डा रोमा बोराको नेतृत्वमा छानविन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech