हुम्लाः नेपाल–चीन सीमाको नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । स्थानीयमा आँखाको समस्या बढेको भन्दै गाउँपालिकाले माग गरेपछि तिलगंगा आँखा अस्पतालले केन्द्र स्थापना गर्न लागेको हो ।
केन्द्र स्थापनाका लागि गाउँपालिका र अस्पतालबीच सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार तिलगंगाले जनशक्ति, उपकरण र अन्य सामग्री सहयोग गर्नेछ भने अन्य व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले गरेको एक अध्ययनअनुसार नाम्खाका झन्डै ६५ प्रतिशत बासिन्दा आँखाका विभिन्न समस्याबाट पीडित छन् ।
‘धूवाँ–धूलोका कारण धेरै मानिसमा आँखाको समस्या देखियो,’ उहाँले भन्नुभयो–‘उपचारका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यताबाट अब स्थानीयले मुक्ति पाउनेछन् ।’
गाउँपालिकाका अनुसार केन्द्रमा तत्काल एक जना नेत्र सहायकले उपचार सेवा प्रवाह गर्नेछन् ।