वीपी प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न १२ पूर्वउपकुलपतिले माग (विज्ञप्तिको पूर्णपाठ)

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

तस्विरः फाइल

काठमाडौंः विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।

विभिन्न विश्वविद्यालयका १२ जना पूर्वउपकुलपतिले सोमबार विज्ञप्ति जारी गरी प्रतिष्ठानमा ८४ दिनसम्म भएको आन्दोलनले शैक्षिक कार्यक्रम र चिकित्सा सेवा अस्तव्यस्त भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।

‘प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समयसम्म अस्तब्यस्त रहँदा पनि आन्दोलनकारीहरूसँग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको छ ।

सरकारको यो उदासिनता प्रति हामी दुख व्यक्त गर्दछौं र अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गरी प्रतिष्ठानको शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुचारू गर्न माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानभित्र आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधारलगायतका विषय उठाएर निरन्तर आन्दोलन भइरहेको छ ।

तीन महिनासम्म पनि आन्दोलनकारीहरूको मागप्रति सरकार सम्बेदनशील नहुनु दुर्भाग्य भएको पूर्वउपकुलपतिहरुले बताएका छन् ।

विज्ञप्तिको पूर्णपाठ

आन्दोलनकारीहरूको जायज मागको अविलम्ब सम्बोधन होस्
२१ भाद्र, २०७८

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान गरिमामय ईतिहास बोकेको एउटा शैक्षिक संस्था हो । उक्त प्रतिष्ठानको शुद्धिकरणको माग राखी गरिरहेको आन्दोलनले आज ८४ दिन पूरा गरेको छ । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार र प्रधानमन्त्री र डा. गोविन्द के.सी.बीच भएको सम्झौता कार्यान्वयन आदि माग राखी भइरहेको आन्दोलन झन्डै तीन महिना पुग्न लाग्यो ।

यति लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागहरूप्रति सरकार सम्बेदनशील नहुनु अत्यन्त दुर्भाग्यको कुरा हो । यद्यपि आन्दोलनको दौरानमा छानबिन समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतिकरण र आन्दोलनको ५० सौ दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुदे सम्झौता आदि केही महत्वपूर्ण कामहरू भए पनि तिनिहरूको कार्यान्वयनमा भने सरकार पूर्णतया उदासिन भएको देखिन्छ ।

प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समय सम्म अस्तब्यस्त रहदा पनि आन्दोलनकारीहरूसग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको छ । सरकारको यो उदासिनता प्रति हामी दुख ब्यक्त गर्दछौ र अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गरी प्रतिष्ठानको शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुचारू गर्न माग गर्दछौ ।

विश्वविद्यालयहरूका पूर्व उपकुलपतिहरू

-महेशकुमार उपाध्याय
-केदारभक्त माथेमा
-सुरेशराज शर्मा
-कमलकृष्ण जोशी
-नवीनप्रकाश जङ्ग शाह
-तोरणबहादुर कार्की
-अर्जुन कार्की
-कैलाशनाथ प्याकुरेल
-हिराबहादुर महर्जन
-खगेन्द्र भट्टराई
-जयराज अवस्थी
-नरेश मान बज्राचार्य

 

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech