बुद्धि बंगाराले सताउँन सक्छ, ढुक्क भएर फाल्नुस्

बुद्धि बंगाराको काम केही हुँदैन । मानिसलाई दुःख मात्र दिन्छ ।


    • डा. प्रतिक श्रेष्ठ

  • २१ भाद्र २०७८, सोमबार

बुद्धि बंगारा के हो ?

दाँतको लहर पछाडिको दाँत बुद्धि बंगारा हो । यो विशेषगरी १७ वर्षदेखि २१ वर्षसम्मका युवामा बढी आउँछ । कतिपयलाई २३ वर्षसम्म पनि आउँछ । १५ वर्ष उमेरभित्र सबै स्थायी दाँत लगभग आइसकेको हुन्छ । तर, १७ वर्षदेखि २३ वर्षसम्म आउने बाँकी दाँत बुद्धि बंगारा हो । यो चारवटा हुन्छ । तल्लो लहरमा दुई र माथिल्लो लहरमा दुई ।

बुद्धि आउने कुरासँग पनि यसलाई जोडिएर हेरिन्छ नि ?

यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो ।

बुद्धि बंगारा आउँदा किन धेरै समस्या हुन्छ ?
यो दाँत आउँदा धेरैलाई दुख्ने र सुन्निने समस्या हुन्छ । बुद्धि बंगारा आउने समयसम्म सबै दाँत आइसकेका हुन्छन् । बुद्धि बंगाराले पर्याप्त स्थान पाउँदैन । बढ्ने ठाउँ नभएका कारण यो दाँत कहिले हड्डीभित्र पसेर उम्रन्छ त कहिले गालातिर छड्के भएर उम्रन्छ । यसले गर्दा गिजा सुन्निने, ज्वरो आउनेजस्ता समस्या देखा पर्छन् ।

पहिलेका मानिसहरुमा बोन साइड ठूलो हुन्थ्यो । ३२ वटै दाँत अट्थ्यो । तर अहिले ८०-९० प्रतिशत मानिसमा वोन साइड सानो छ। जस्का कारण थप दाँत आउँदा दुखाई बढी हुने गरेको हो । अर्को कुरा दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ । खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर संक्रमण सुरु हुन्छ । सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ ।

यसको दुखाइबाट कसरी छुटकारा पाउन सकिन्छ ?

यो बंगारा आउँदा दुख्ने प्रक्रिया सामान्य हो । अति दुःख दिएपछि मात्रै चिकित्सकसँग सल्लाह लिने चलन छ । यो एकदमै गलत हो । यसको दुखाइ कम गर्न समय–समयमा चिकित्सकलाई देखाउनुपर्छ । दाँतका कारण समस्या भएमा निकालेर फाल्न सकिन्छ ।

उसो भए यो दाँतको काम छैन त ?

हो, बुद्धि बंगाराको काम केही हुँदैन । मानिसलाई दुःख मात्र दिन्छ । पछिल्लो समय यसलाई फाल्ने चलन बढ्दै गएको छ । विदेशमा धेरै ठाउँमा पहिलेदेखि नै फाल्ने गरिन्छ । तर, नेपालमा यो दाँत फाल्नु हुँदैन भन्ने मान्यता छ । यो दाँतले अति दुःख दिए मात्रै डाक्टरसमक्ष जाने चलन नेपालीमा छ । यो बंगारा फाल्दा कुनै समस्या हुँदैन । बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ ।

(दन्त चिकित्सक, डा श्रेष्ठ गणपति डेन्टल क्लिनिक नेपालगन्जमा कार्यरत हुनुहुन्छ )

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech