कोभिडपछि देखिन सक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

थोरै समय हिँड्दा नै थकान लाग्ने, सास फेर्न गाह्रो हुने, कमजोरी महसुस हुने, निद्रा नलाग्ने जस्ता लक्षण देखा पर्ने गरेको छ । कोभिड हुँदा निमोनिया भएकालाई पोष्ट कोभिडको जोखिम बढी हुने गरेको छ । कोभिड भएर निको भएकालाई निमोनिया हुने गरेको पाइएको छ ।


    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः कोभिडको संक्रमणबाट मुक्त भइसकेका व्यक्तिहरुमा विभिन्न लक्षणसहितको स्वास्थ्य समस्या देखिन थालेको छ । ती समस्याप्रति बेवास्ता नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन सुझाव दिएका छन् ।

भेरी अस्पतालका फिजिसियन डा खगेन्द्र जंग शाहका अनुसार पछिल्लो समय अस्पताल तथा क्लिनिकहरुमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या भएका बिरामीहरु आइरहेका छन् ।

कोभिड संक्रमणबाट मुक्त भएको ५-६ महिनाको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

डा शाहका अनुसार थोरै समय हिँड्दा नै थकान लाग्ने, सास फेर्न गाह्रो हुने, कमजोरी महसुस हुने, निद्रा नलाग्ने जस्ता लक्षण देखा पर्ने गरेको छ । कोभिड हुँदा निमोनिया भएकालाई पोष्ट कोभिडको जोखिम बढी हुने गरेको छ । कोभिड भएर निको भएकालाई निमोनिया हुने गरेको पाइएको छ ।

सकेसम्म कोभिडबाट निको भइसकेका बिरामीले खानपानमा बिशेष ध्यान दिनु पर्ने डा शाहको सुझाव छ। चिसो नखाने, पोषिलो खाने कुरा खाने, र सकेसम्म शारिरीक व्यामलाई ध्यान दिनु पर्ने उहाँको सुझाव छ ।

बाँकेमा अहिलेसम्म करिव साढे १८ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये १७ हजार ५ सय ९५ जना कोरोनामुक्त भइसकेका छन् ।

 

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech