वीरगन्जमा डेढ महिनापछि कोरोनाबाट एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

वीरगन्जः वीरगन्जमा झण्डैं डेढ महिनापछि बिहीबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका १ का ३३ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

अस्पतालको कोभिड वार्डमा ७ दिनदेखि उपचारत ती पुरुषको बिहीबार बिहान पौने २ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । भदौ १० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पछिल्लो पटक गत असार २७ गते नारायणी अस्पतालमा उपचाररत पर्साकै सखुवा प्रसौनी गाउँपालिका १ की ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।

डाक्टर सिंहका अनुसार त्यसयता वीरगन्जमा कोही पनि संक्रमितको मृत्यु भएको थिएन । नारायणी अस्पतालको कोभिड वार्डमा हाल १ जना संक्रमित मात्र उपचाररत रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १० जना मात्र छ । तीमध्ये ९ जना आफ्नै घरको होम आइशोलेसनमा रहेका छन् ।

दोस्रो लहरमा वीरगन्जमा पर्सा र अन्य जिल्लाका गरी हालसम्म ३ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । ती मध्ये पर्सा जिल्लाका १४० जना र अन्य जिल्लाका २०१ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साको कोभिड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिए ।

पहिलो लहरको संक्रमणका बेला भने वीरगन्जमा ८६ जनाले ज्यान गुमाएका थिए।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech