फार्मेसी सञ्चालकको गुनासो-‘हामीले सिटामोल पाउँदैनौं, बिरामीलाई कसरी दिनु ?’

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

काठमाडौंः ललितपुर, नयाँबाटो बस्दै आएकी शर्मिला भुजेलका श्रीमानलाई ज्वरो आएको थियो। अहिले कोरोनासँगै मौसमी फ्लुको प्रभाव बढेको छ। शर्मिलाका श्रीमानलाई पनि फ्लुले च्याप्यो।

शर्मिला उहाँका लागि सिटामोल किन्न हिड्नुभयो नजिकका सबै मेडिकल चर्हानुभयो। सिटामोल पाउनुभएन। झन्डै आधा घन्टा खोजेपछि बल्ल ठाडोढुंगास्थित एक फार्मेसीमा फेला पार्नुभयो ।

भोटेबहाल बस्ने कर्णबहादुर मगर पनि सिटामोल खोज्दै-खोज्दै वीर अस्पतालै पुग्नुपरेको बताउँनुहुन्छ। आसपासका कुनै मेडिकलमा सिटामोल नपाएको उहाँले बताउनुभयो।

शर्मिला र कर्णबहादुरकै जस्तो अनुभव भएका उपभोक्ता धेरै छन्। कोभिड महामारी चुलिएदेखि नै उपभोक्ताले सहजै सिटामोल पाउन सकेका छैनन्। कतिपयले नजिकै मेडिकलमा सिटामोल नपाउँदा सिटामोलको मात्रा भएका साइनक्स जस्ता अन्य औषधि लैजाने गरेको पनि पाइएको छ।

औषधि बिक्रेताहरूका अनुसार सिटामोलसँगै डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, एन्टिबायोटिकहरू, जिंक चक्की, स्टेरोइड लगायत अरू औषधि पनि अभाव छ। कोरोना संक्रमण बढेसँगै सिटामोलको माग उच्च रहेको तर त्यहीअनुसार उद्योगबाट नआउँदा अभाव सिर्जना भएको वितरकहरू बताउँछन्।

‘पाँच बट्टा सिटामोलको माग छ भने एक बट्टा दिन पनि मुश्किल परेको छ। कहिलेकाहीँ त्यो पनि हुँदैन’- क्षेत्रपाटीस्थित औषधिका थोक बिक्रेता बाबुराम पाण्डेले भन्नुभयो। कुनै बेला बजारमा सिटामोल कम आउने, कुनै बेला आउँदै नआउनाले अभाव भइरहेको उहाँले बताउनुभयो।

रातोपुलस्थित सर्वनिदान फार्मेसीका फार्मेसिस्ट कविन मलेकूले पनि पछिल्लो समय सिटामोल निकै अभाव भएको बताउनुभयो । ‘बजारमा छिटफुट पारासिटामोल आउँछ, जसको पहुँच छ उसले पाउँछ। पहुँच नभएका फार्मेसीलाई सिटामोल पाउनै गाह्रो छ। हामीसँले सिटामोल नपाएपछि बिरामीले कसरी दिनु ?’- उहाँले प्रश्न गर्नुभयो। आफूले पनि कतिपय बिरामीलाई सिटामोलको मात्रा भएका औषधि दिएर पठाउने गरेको उहाँले बताउनुभयो।

औषधि व्यवस्था विभाग सूचना अधिकारी सन्तोष केसी कोभिडका कारण माग अत्यधिक बढेको र उत्पादन घट्नुले बजारमा सिटामोल अभाव रहेको स्वीकार गर्नुहुन्छ । भारतमा पारासिटामोल महँगो पर्ने भएकाले तस्करीको आशंका समेत गरिएको छ। नेपालमा प्रतिट्याब्लेट एक रूपैयाँ पर्ने सिटामोल भारतमा सवा दुई रूपैयाँसम्म रहेको उल्लेख छ। यसले गर्दा पनि तस्करी हुन सक्ने आशंका गरिएको हो।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech