कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो ।

कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ ।

प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताउनुभयो ।

“बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ”, खड्का भन्नुहुन्छ, “बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।” उहाँका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ ।

निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पुगेको छ ।

पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ ।

 

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech