नेपालमा हालसम्म १ करोड ३३ लाख खोपको मात्रा आइपुग्यो

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म नेपाललाई १ करोड ३३ लाख ५८ हजार खोपको मात्रा प्राप्त भएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार जसमध्ये भारतबाट कोभिसिल्ड १० लाख, चीनबाट भेरोसेल १८ लाख, जापनबाट १६ लाख, अमेरिकाबाट १५ लाख, गाभीबाट ३ लाख ४८ हजार मात्रा खोप अनुदानमा आएको छ।

नेपालले चीनबाट ५६ लाख र भुटानबाट २ लाख ३० हजार डोज खरिद गरेको छ। मन्त्रालयले चीनबाट १६ लाख अनुदान र खरिद ४४ लाख डोज आउने क्रममा रहेको जनाएको छ। त्यसैगरी, भारतबाट १० लाख कोभिसिल्ड केही समयभित्र आउनेछ।

गाभीबाट सुलभ मूल्यमा १ करोड ५० लाख आउने जसमा ४० लाख मोडर्नाको खोप विश्व बैंकबाट रकम भुक्तानी भइसकेको छ। बाँकी १ करोड १० लाखको लागि काम हुँदै गरेको मन्त्रालयले जनाएको छ। त्यसैगरी, गाभीबाट निशुल्क अनुदानमा २० प्रतिशत जनसंख्यालाई प्राप्त हुने १ करोड १३ लाख डोज क्रमश प्राप्त हुनेछ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार ९० लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। जसमध्ये ५० लाख ६३ हजारले पहिलो र ४० लाख ५२ हजारले पूर्ण मात्राको खोप लगाइसकेका छन्। पूर्ण खोप पाउने कुल जनसंख्याको १३ प्रतिशत नाघिसकेको मन्त्रालयले जनाएको छ।

 

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech