भेरीमा नर्सको गल्तीले लफडाः छानविन समिति बन्ने, डिएनए परीक्षण हुने

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पतालमा नर्सको गल्तीका कारण उत्पन्न समस्या सहमतिमा टुंगीएको छ । खजुरा गाउँपालिकास्थित सिमलघारीकी चन्द्रा विकले ९ दिन अघि जन्माएको शिशुको मृत्युलाई लिएर लफडा भएको थियो ।

हिंजो परिवारले शव बुुझेर अन्तिम संस्कारका लागि मानखोला लगेका थिए । सतगद गर्नेक्रममा शिशुको दाँया हातमा गीता चौधरी र बाँया हातमा चन्द्रा विक ट्याग देखिएपछि चन्द्राका आफन्तहरुले भेरीमा बच्चा साटिएको भन्दै लफडा मच्चाएका थिए ।

गएरातीदेखि सुरु भएको लफडा आज मृत शिशु विकको भए नभएको एकिन गर्न डिएनए परीक्षण गर्ने, घटनाबारे सत्यतथ्यका लागि छानविन समिति बनाउने सहमतिमा टुंगीएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले स्वास्थ्य पेजसँग भन्नुभयो–‘शिशुको डिएनए परीक्षण गर्ने, लापरवाहीबारे छानविन गर्न समिति बनाउने र आमाको उपचार खर्च सबै अस्पतालले वेहोर्ने सहमतिमा आन्दोलन टुंगीएको छ ।’ सहमतिसँगै आफन्तहरुले शिशुको शव लिएर गएका छन् ।

अस्पतालमा शिशु जन्मिएपछि पहिचानका लागि हातमा आमाको नाम लेखेर ट्याग लगाइन्छ । तर नर्सले झुक्किएर शिशुको हातमा आमा चन्द्रासँगै गीता थारुको नामको ट्याग पनि लगाइदिएकी थिइन् ।

जस्का कारण पीडितहरुलाई आफ्नो बच्चा साटिएको भ्रम परेको बताइएको छ । अस्पताल प्रशासनले बच्चालाई टयाग लगाउँदा नर्सले गल्ती गरेको स्विकार गरेको छ ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech