पाँच वर्षमुनिका बालबालिकाले किन लगाउनु पर्दैन मास्क ?

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको सल्लाह छ— सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ ।

नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिकाले मात्रै खोप लगाएका छन् । खोप नलगाएका कारण जोखिम समूहमा पर्छन् बालबालिका । उनीहरूले नै किन लगाउनुपर्दैन त मास्क ? मास्क नलगाइ पनि कसरी जोगाउने उनीहरूलाई ?

५ वर्षमुनिका बालबालिकाका लागि मास्क व्यवहारिक नहुने भएकाले डब्लुएचओ र युनिसेफले यस्तो सल्लाह दिएको हो । विज्ञहरूका अनुसार पनि बालबालिकालाई मास्क लगाउनुभन्दा भिडभाडबाट जोगाउनु उत्तम नै कोभिडबाट बचाउने उत्तम उपाय हो । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन ५ वर्षभन्दा मुनिका बालबालिकालाई मास्क लगाइदिँदा श्वास फेर्न समस्या हुने बताउनुहुन्छ ।

‘साना बालबालिकाले आफ्ना कुरा सजिलै व्यक्त गर्न सक्दैनन्, उहाँ भन्नुहुन्छ–‘मास्क लगाइदिँदा उनीहरूलाई कतिबेला अप्ठ्यारो पर्छ थाहा हुँदैन । आमाबुबाले यस्ता कुरामा २४ सैँ घण्टा ध्यान दिएर बस्न पनि सक्दैनन् । त्यसैले उनीहरूलाई मास्क लगाइदिनुभन्दा नलगाइदिनु बेस ।’

डा पुनका अनुसार मास्क लगाउनुपर्दैन भन्नुको अर्थ उनीहरूलाई कोभिड सर्दैन भन्ने चाहिँ होइन । उनीहरूलाई कोभिडबाट सुरक्षित राख्न आमाबुवाको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकालाई सुरक्षित राख्न आमाबुवा सुरक्षित हुनुपर्छ । उनीहरूले खोप लगाएको हुनुपर्छ ।

वरिष्ठ बाल रोग विशेषज्ञ डा युवानिधी बसौला पनि ५ वर्षभन्दा माथिकालाई मात्र बाहिर हिँड्दा मास्क लगाइदिन आग्रह गर्छन् । ५ वर्षमुनिका बालबालिकालाई मास्क नलगाइदिन उहाँको पनि आग्रह छ । ‘५ वर्षभन्दा मुनिकालाई सकेसम्म मास्क नलगाइदिदा राम्रो’ उहाँ भन्नुहुन्छ–‘उनीहरूलाई कोभिडबाट बचाउन भिडभाडमा लिएर जानु हुँदैन ।’

नेपालमा बालबालिकाले खोप नलगाएको हुनाले उनीहरूलाई विशेष सुरक्षा दिनुपर्ने डा पुनको भनाइ छ । ‘आफू संक्रमित हुँदा वा कन्ट्रयाक्ट टे«सिङमा पर्दा बालबालिकाको विशेष ख्याल राख्नुपर्छ,’ उहाँ भन्नुहुन्छ–‘आगामि दिनमा कतिसम्म घातक किसिमका भेरियन्ट आउँछ र त्यसले कसलाई आक्रमण गर्छ भन्न सक्ने अवस्था छैन ।’

विज्ञहरूका अनुसार बालबालिकाहरू घरभित्र हुँदा, घरमा कोही कोभिडको बिरामी नहुँदा मास्क लगाउनुपर्दैन । तर, घरमा कोही बिरामी छन् र भौतिक रूपमा नजिक छन् भने मास्क लगाइदिनुपर्छ । तर, उनीहरूले कसरी मास्क लगाएका छन्, उनीहरूलाई केही साह्रो गाह्रो परेको छ, छैन त्यसबारे भने बेला–बेला विचार पुर्‍याउनुपर्छ ।

बालबालिकालाई जबरर्जस्ती मास्क लगाइदिँदा श्वास्प्रश्वासमा समस्या हुनुको साथै अन्य विभिन्‍न समस्या आउन सक्ने विज्ञहरूको भनाइ छ । उनीहरूलाई मास्क लगाइदिनुभन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुने उनीहरूको सल्लाह छ ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech