कोहलपुर बन्यो कोरोनाको हटस्पटः थप एकको मृत्यु, भाइरल ज्वरोले झुक्याउँदै

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरकी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ८ की ५५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई साउन २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यही दिन भेरीको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको आज विहान सवा ३ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको छ ।

अहिले कोहलपुर कोरोनाको हटस्पट बनेको छ । नमुना परिक्षणका क्रममा बाँकेमा संक्रमण पुष्टि भएका मध्य करिव ९५ प्रतिशत बढी कोहलपुरका छन् । आइतवार बाँकेमा ५ जना थपिँदा कोहलपुरका चार जना थिए । शनिवार बाँकेमा १५ जनामा कोभिड पुष्टि हुँदा १३ जना कोहलपुरका थिए । स्वास्थ्य मापदण्डको चरम वेवास्ताका कारण कोहलपुरमा संक्रमण दर डर लाग्दो गरी बढिरहेको छ । अधिकांश लक्षण चिन्ह देखिएपछि मात्रै कोभिड परीक्षण गराउने गरेका चिकित्सकहरु बताउँछन् ।

भाइरल ज्वरो भन्दै मेडिकलबाट औषधि लिएर खाने र घरमै बस्ने गरेका कारण बिरामीको अवस्था थप जटिल बन्ने गरेको चिकित्सकहरुको भनाइ छ । जसका कारण बिरामीको ज्यान जोखिममा परिरहहेको छ भने अर्कोतर्फ त्यसले घरपरिवार र समुदायमा संक्रमण दर फैलाउने काम गरिरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका फिजिसियन डा.प्रवेश पन्तले बताउनुभयो ।

भाइरल फ्ल्यु र कोरोनाको लक्षण उस्ता उस्तै हुने भएकाले पीसीआर परीक्षण उत्तम विकल्प भएको सुझाउनुभएको छ । पीसीआर परीक्षणपछि कोभिड वा भाइरल फ्ल्यु के हो ? स्पष्ट हुने र त्यहीअनुसार उपचार गर्न सहज हुने उहाँको भनाइ छ ।

 

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech