भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

नेपालगन्जः भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो ।

कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।

भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । यसअघि डीएनए खोपले जनावरमा राम्रो काम गरेको भए पनि मानिसमा भने यस्तो खोप आएको थिएन ।

भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको छ । भारतले कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीनवटा कोरोना खोपलाई अनुमति दिएको छ । भारतमा करिब १३ प्रतिशत वयस्क मानिसले पूर्ण डोज कोरोना खोप लगाएका छन् भने ४७ प्रतिशतले कम्तीमा एक डोज कोरोना खोप पाएका छन् ।

काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो । यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।

डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरु बताउँछन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।

 

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech