कर्णालीमा कोरोना संक्रमण दर फेरि बढ्यो, नाकामा परीक्षण शुरु

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

सुर्खेतः कर्णाली प्रदेशमा कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ । केही समय ओरालो लागेको संक्रमण दर फेरि बढ्न थालेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् ।

साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ जनामा संक्रमण देखिएको हो ।

यस्तै साउनयता पीसीआर विधिबाट दुई हजार ८६० जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये एक हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कर्णालीमा साउनयता मात्रै १७ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ ।

१० जना जटिल प्रकृतिका संक्रमित कर्णाली प्रदेश अस्पतालमा उपचाररत रहेको र जसमध्ये तीनरचार जनाको अवस्था जटिल रहेको अस्पतालका डा केएन पौडेलले जानकारी दिनुभयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेको संक्रमण दरलाई चाँडै रोकथाम तथा नियन्त्रण गर्न नसके अझै बढी भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ ।

संक्रमितको संख्या बढेसँगै फेरि अस्पतालहरु भरिभराउ हुन थालेको र अक्सिजनको मागसमेत बढेको उनीहरुको भनाइ छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार साउन महीनासम्म कर्णाली प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ हजार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ४४ हजार १३४ मध्ये १० हजार ७३५ जनामा संक्रमण देखिएको छ । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका एक लाख २५ हजार २२४ मध्ये २१ हजार २८१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेशमा हालसम्म ३६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै ८९० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्न सीमा नाकामै अस्पताल सञ्चालन र परीक्षण लगाएतका कामहरु अगाडि बढाएको छ ।

कैलालीसँग सीमा जोडिएको सुर्खेतको कुइनेमा भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरुको कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech