संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा कोरोना खोप अभियानमा तीव्रता

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

नेपालगन्जः कोरोना भाइरसको संक्रमण उल्लेख्यरुपमा बढेसँगै अष्ट्रेलियामा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ । बिहीबार अष्ट्रेलियामा कोरोनाका अहिलेसम्मकै धेरै दैनिक नयाँ संक्रमित फेला परेका हुन् । विशेषगरी न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।

बिहीबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले कोरोना संक्रमण घटाउन खोप अभियानलाई तीव्रता दिनुको विकल्प नभएको बताउनुभयो । आगामी साता कोरोना संक्रमणको अवस्था झन् खराब हुने उहाँको भनाइ छ । उहाँले धेरै मानिसले कोरोना खोप लगाए जनजीवन सहज हुने बताउनुभयो ।

बिहीबार अष्ट्रेलियामा कोरोनाका ७५४ नयाँ संक्रमित फेला वरेका थिए । जसमध्ये न्यु साउथ वेल्समा मात्र ६८१ नयाँ संक्रमित फेला परेका हुन् । सिड्नीको लकडाउन हटाउने तयारी चलिरहेको अवस्थामा मानिसहरुलाई सुरक्षित बनाउन पनि खोप अभियानलाई तीव्रता दिन लागिएको हो ।

यद्यपि सिड्नीको लकडाउन १६ वर्षभन्दा माथिको उमेर समुहका ७० प्रतिशतले खोप नलगाउँदासम्म लकडाउन जारी रहन सक्ने अधिकारीहरुले बताएका छन् । यो लक्ष्य अक्टोबरको अन्तिममा मात्र हासिल हुन सक्ने अपेक्षा छ ।

अहिलेसम्म न्यु साउथ वेल्सका २८।५ प्रतिशतले पूरा डोज खोप लगाइसकेका छन् । जबकि ५२ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech