किन प्रभावकारी भएन पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप ?

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

काठमाडौंः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँनुहुन्छ । त्यसैले त्यसको विरुद्ध खोप शुरु भएको हो ।

डा प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडितको संख्या दिन प्रतिदिन घटिरहेको छ ।

तर नेपालमा भने अहिलेसम्म सरकारी अस्पतालहरुमा नियमित दिन सकिएको छैन । यो खोपलाई नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध नगराएसम्म प्रभावकारी नहुने विशेषज्ञहरु बताउँछन् ।

गएको आर्थिक वर्षमा भरतपुर क्यान्सर अस्पतालबाट केही पालिकाहरुमा दिइएको र त्योभन्दा अघिल्लो पाइलटिङ प्रोजेक्टको रुपमा कास्की र चितवनमा केही खोप दिएको खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेटले पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने र तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्घ खोप कार्यक्रम सञ्चालन गर्नेछ । त्यहि अनुरुप तयारी भइरहेको डा.गौतमले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी भ्याक्सिन नेपालमा प्रयोग भएको विशेषज्ञहरुको भनाइ छ । कास्की र चितवनमा परीक्षण भएको सर्भारिक्स हो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गर्डाशिल भ्याक्सिन दिंदै आएको छ, जुन नेपालमा सन् २००९ देखि नै प्रयोगमा छ । सरकारले बजेट मार्फत ल्याउन खोजेको भ्याक्सिन भने सर्भारिक्स हो ।

नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने डा श्रेष्ठ बताउनुहुन्छ ।

क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउने काम गरिरहेका केही संस्थाहरुका कारण, इन्टरनेटमा पहुँचका कारण खोपको बारेमा केही जानकारी पाउनेको संख्या बढिरहेको पाइएको बीएण्डबी अस्पतालकी बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कार्कीको भनाइ छ ।

यो खोपबारे शिक्षितहरुमा जनचेतना कम भएको विशेषज्ञहरुको भनाइ छ । खोपको प्रभावकारीताबारे गरिएका रिसर्च, तथ्यहरु क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले सचेतना विस्तारै फैलिरहेको उनीहरुको भनाइ छ ।

यो खोप महँगो पर्ने भएकाले पनि कतिपयले लगाउन नचाहने विशेषज्ञहरुको अनुभव रहेको बताउँछन् । छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । अस्पताल अनुसार यसको मूल्यमा पनि फरक पर्ने पाइएको छ ।

एक डोजको हरिसिद्ध क्यान्सर अस्पतालमा चार हजार बढी र बीएण्डबी अस्पतालमा आठ हजारमा लगाउन सकिने अस्पतालले जनाएको छ । तर सरकारले धेरै खरिद गर्ने हो भने यसको मूल्य सस्तो पर्ने विशेषज्ञहरु बताउँछन् ।

 

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech