वडाध्यक्ष फुयालको अगुवाइमा एम्बुलेन्स खरिदः सुत्केरीलाई निशुल्क सेवा, वडाबासीलाई आधा छुट

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

इटहरीः सुनसरीका इटहरी, धरान र इनरुवाको लगभग केन्द्रमा पर्ने रामधुनी नगरपालिकामा राम्रा स्वाथ्य संस्था छैनन् । विरामीलाई जिल्ला अस्पताल लैजान इनरुवा पुग्नुपर्छ, राम्रो चेकजाँच गर्न इटहरी । गम्भीर रोग लागे धरान वा विराटगर । एम्बुलेन्स सेवा अनिवार्य छ ।

समस्यालाई चिर्न रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्षको अगुवाइमा नयाँ एम्बुलेन्स खरिद गरिएको छ । वडाको बजेट र स्थानीयहरुको सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो ।

राजधुनीमा सरकारीस्तरमा खरिद गरिएको यो पहिलो एम्बुलेन्स हो । १३ लाख ४३ हजार लागतमा खरिद गरिएको एम्बुलेन्सले सुत्केरीलाई निशुल्क बोक्नेछ भने अन्य बिरामी भएका वडाबासीलाइ आधा छुट हुनेछ ।

एम्बुलेन्स संचालन सहज बनाउन स्थानीय गुणराज काफ्लेको नेतृत्वमा एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति बनेको अध्यक्ष फुयालले बताउनुभयो । एम्बुलेन्स सेवाग्राही कार्ड वितरण गरेर सेवा दिइने तयारी अगाडि बढेको फुयालले बताउनुभयो ।

कोभिड संक्रमित बोक्न एम्बुलेन्स नपाएपछि खरिद

कोडिभ लहरको पिकमा रामधुनी ५ का धेरै जना संक्रमित भए । बजार क्षेत्र पर्ने भएकोले संक्रमितलाई उपचार गर्न एम्बुलेन्सको आवश्यकता धेरै भयो । नगरपालिकाका विभिन्न संस्थाको नाममा ६ एम्बुलेन्स थिए । भएका एम्बुलेन्स सबै ठेक्कामा लागेका थिए । एम्बुलेन्स माग्न छिमेकी स्थानीय तह इटहरी र जिल्लामा गुहार गर्नुपर्ने अवस्था आयो ।

समस्याले हैरान भएपछि वडाध्यक्ष फुयालले २०७७ मंसिरमा वडाका टोल विकास प्रतिनिधिहरुसँग छलफल गर्नुभयो । २५ टोल विसका संस्थाका अध्यक्ष र सचिव सहभागी बैठकमा सबैले सहयोग गर्ने बचन दिनुभयो । बचनअनुसार पुषमा संघीय मन्त्रालयमा कर छुटको लागि पत्र बुझाउनुभयो ।

तत्कालीन मन्त्री भानुभक्त ढकालको समयमा बुझाएको पत्रमाथि हृदयश त्रिपाठी मन्त्री आएपछि काम भयो । एम्बुलेन्स किन्न वडा कार्यलय, २५ टोल विकास संस्थादेखि ७६ स्थानीयले आर्थिक सहयोग गरे । र, हालसालै एम्बुलेन्स आयो ।

२०६६ सालमा अनेरास्यवियु सुनसरी अध्यक्षदेखि जनकपुर महाधिवेशनपछि केन्द्रीय सदस्य भएर स्थानीय तहमा आएका फुयालले विद्यार्थी राजनीतिको व्यवस्थापकीय अनुभवले वडामा काम गर्न सजिलो भएको बताउनुभयो ।

 

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech