कंचनपुरमा कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

कंचनपुरः कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ। मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो। सीमा नाका भएर आउने व्यक्तिलाई हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरिएको बताउनुभयो ।

त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक-एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उहाँको भनाइ थियो।

खोप जारी
जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ। स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म यो खोप ३५ प्रतिशतले लगाइसकेका छन्। पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन्।

सक्रिय बिरामी
जिल्लामा सक्रिय सङ्क्रमित १२५ छन्। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ। वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो। तीमध्ये तीन हजार ६०६ सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ।

 

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech