धनी देशहरुमा बुस्टर डोज लगाउँदा विश्वव्यापी मृत्युदर झनै बढ्ने चेतावनी

कोही बुस्टर डोज लगाउन थाले, कोही पहिलोमै अड्किए


    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

लन्डनः पश्चिमी देशका नेताहरुले अहिले अतिरिक्त खोपहरु गरिब देशमा बाँड्नुको सट्टा आफ्नै जनसङ्ख्यामा मात्र केन्द्रित रहेर बुस्टर डोज लगाउने तयारी गरिरहेका छन् । तर। त्यो निर्णयको अर्थ बाँकी मानव समुदायप्रति उनीहरुले आफ्नो जिम्मेवारी अस्वीकार गर्नु हो जसले विश्वभर कोभिडका कारण अझ धेरै मान्छेको ज्यान जाने अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्रमुखले चेतावनी दिएका छन् ।

प्रोफेसर सर एन्ड्रयु पोलार्ड र कोभ्याक्ससँग सहकार्य गरिरहेको गाभीका कार्यकारी सेथ बर्कलीले ठूलो स्तरमा अतिरिक्त बुस्टर डोज लगाउँदा अन्य देशमा धेरै भयानक परिणाम हुन सक्ने बताएका छन् ।

उनीहरुले लेखेका छन्, “निर्णयकर्ताहरुका लागि यो अत्यन्तै महत्त्वपूर्ण समय छ । किनकी धनी मुलुकमा ठूलो स्तरमा सबैलाई बुस्टर डोज लगाउन थाल्दा यसले विश्वभर, कोभिडविरुद्धको खोपको दुईवटा बाहेक अरु अतिरिक्त डोज पनि आवश्यक पर्ने रहेछ भन्ने सन्देश दिनेछ । र, यसमा धेरै खोप खर्च हुने हुँदा कतिपय मुलुकमा व्यक्तिले एउटा पनि डोज नपाएर ज्यान गुमाउनुपर्ने हुन्छ । त्यसैले यस सम्बन्धी बलियो वैज्ञानिक प्रमाण बिना नै लाखौँ मानिसलाई बुस्टर डोज लगाउन सुरु गर्दा इतिहासले मानव समुदायकै ठूलो संकटका समयमा राजनीतिक नेताहरुको देखाएको भयावह गैरजिम्मेवारीका रुपमा यस घटनालाई याद राख्नेछ ।”

यता, विश्व स्वास्थ्य संगठनले पनि सबै मुलुकलाई सेप्टेम्बरसम्म बुस्टर खोप नलगाउन सुझाव दिँदै आएको छ । धनी र गरिब देशबीच खोप वितरणलाई समान राख्न मद्दत गर्नका लागि डब्लूएचओले त्यसो भनेको हो । तर पनि जर्मनी, फ्रान्स, इजरायललगायत विभिन्न देशमा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने काम सुरु भइसकेको छ । अमेरिकाले समेत डब्लूएचओलाई पर्खिएर नबस्ने र सो सुझाव गलत छनोट हुने संकेत दिइसकेको छ ।

पोलार्ड र बर्कलीका अनुसार खोपले लाखौँको ज्यान बचाएर विश्वभर आशा जगाइरहे पनि अझै हरेक हप्ता कोरोनाले मान्छे मरिरहेका छन् र धेरै देशमा अस्पतालहरु संक्रमित नधान्ने अवस्थामा छन् ।

उनीहरुले थप भनेका छन्, “यो वर्ष पनि कोभिडका कारण ज्यान गुमाउने अधिकतम मान्छेलाई हामीले सही निर्णय लिएको भए बचाउन सक्ने थियौँ । जोखिममा रहेका सबैलाई खोप लगाउनु वास्तवमा दुनियाँकै हितका लागि हो । यसले नयाँ भेरियेन्ट सिर्जना हुनबाट जोगाउनेछ, स्वास्थ्य प्रणालीलाई दबाब मुक्त बनाउनेछ, यात्रा र भ्रमण खुलाउनेछ अनि विश्वव्यापी अर्थतन्त्रले पनि फेरि गति लिन पाउनेछ । यतिमात्र नभएर यस किसिमको नैतिक नेतृत्व लिन सक्ने राजनीतिक नेताको अन्तर्राष्ट्रिय मान र अधिकार पनि बढ्नेछ ।”

त्यस्तै उनीहरुले मान्छेलाई गम्भीर बिरामी पर्नबाट जोगाउन कति स्तरको एन्डिबडी पर्याप्त हुनेछ भन्नेको निश्चित मापन नभएकामा पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

जस्तै ‘यल्लो फिभर’को खोप एउटा डोज लगाउँदा त्यसले जीवनभर सुरक्षा दिलाउन सक्छ भने फ्लुको खोप हरेक वर्ष सिजन सिजनमा लगाइरहनुपर्ने हुन्छ । त्यस्तै टिटानसको खोप चाहिँ जीवनभर सुरक्षित रहन पाँचदेखि छ वटा डोजसम्म लगाउनुपर्ने हुन्छ । तर, यी सबैका बीच कोभिडको खोप कुन समूहमा पर्छ भन्ने अझै स्पष्ट नभइसकेको उनीहरुले बताए । अहिलेसम्मका अध्ययन र रिसर्च हेर्दा कोभिडको दुई डोज खोपले गम्भीर बिरामी पर्नबाट र प्रमुख भेरियेन्टहरु विरुद्ध सुरक्षा दिलाउन सक्ने देखिएको छ ।

उनीहरुले भनेका हुन्, “हाम्रो खोप अभियानको नीति हलुका संक्रमणलाई रोक्न एन्टिबडी कायम राख्ने किसिमको हुनु हुँदैन । यदि एन्टिबडी एक्लैमा केन्द्रित रह्यो भने हामीले लगातार परिवर्तन भइरहने भाइरसबाट जोगाउन सबैलाई बारम्बार खोप लगाइरहनु पर्ने हुन्छ । त्यसैले खोप लगाउनुको आसय मान्छेलाई हलुका संक्रमणबाट बचाउनु नभएर अस्पताल भर्ना हुने क्रम रोक्ने र मृत्युदर कम गर्ने हुनुपर्छ ।”

उनीहरुले निष्कर्षमा भनेका छन्, “हामीले अहिले दुई डोज खोप लगाउने लक्जरी समय पाएका छौँ । त्यसैले यो बेला लाखौँलाई बुस्टर डोज लगाउनेतर्फ होइन कि एक डोज पनि नलगाएकाहरुतर्फ ध्यान दिनुपर्छ । सबैले निश्चित रुपमा पहिलो डोज खोप लगाएको हुनुपर्छ ।”

द गार्जियन

 

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech